अपिमा १० हजार पर्यटकलाई भ्रमण गराउने लक्ष्य

धनगढी – बाह्रै महिना पर्यटनको प्रचुर सम्भावना बोकेको अपि हिमाल क्षेत्रमा १० हजार पर्यटकलाई भ्रमण गराउने लक्ष्य लिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले अपि हिमाललाई मुख्य प्राथमिकतामा राखेर पर्यटन भ्रमण वर्ष मनाइरहेका बेला ट्राभल र टुर व्यवसायीहरूको छाता संस्था नाटाले १ बर्षमा १० हजार पर्यटनलाई अपि क्षेत्रमा भ्रमण गराउने लक्ष्य लिएको हो ।

maya metro hospital

नाटाका सुदूरपश्चिम अध्यक्ष पदम बहादुर सिंहले भ्रमण वर्षमा करिब १० हजार पर्यटकलाई अपि क्षेत्रमा अवलोकन गराउने लक्ष्य रहेको बताए । पर्यटनको हिसाबले अपि क्षेत्र अवलोकन तथा आरोहणका लागि ७ रात ८ दिनको प्याकेज रहेको बताउँदै अध्यक्ष सिंहले पर्यापर्यटनको उत्कृष्ट गन्तव्य रहेको बताए । तर राज्यको बलियो उपस्थिति हुन नसक्दा यो क्षेत्र ओझेलमा पर्दै गएको उनको भनाइ छ ।

joshi vada pasal 2

सुदूरपश्चिम प्रदेशकै सर्वोच्च शिखरको रूपमा रहेको दार्चुला जिल्लास्थित अपि हिमाल क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न भ्रमण वर्ष मनाइरहेको छ । यो हिमालको उचाइ ७ हजार १३२ मिटर छ । विश्व पर्यटन दिवसको अवसरमा असोज १० गते सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा लगायतका जनप्रतिनिधि, मन्त्रालय र गाउँपालिकाका कर्मचारी, पर्यटन व्यवसायी र आन्तरिक पर्यटकहरू ३ दिनको यात्रापछि अपि हिमालको बेस क्याम्प पुगेका थिए । त्यहाँबाट भ्रमण वर्ष सुरु भएको उद्घोष गरिएको थियो ।

सन् १८९९ मा पहिचान गरिएको अपि हिमालमा सन् १९६० मा पहिलो पटक आरोहण गरिएको थियो । अपिको फेदी भने प्राकृतिक मनोरम छटाले भरिएको छ । विभिन्न प्रजातिका फूल पाइने यहाँ स्थानीय समुदायको सांस्कृतिक सौन्दर्यले अवलोकनकर्ताहरुलाई आकर्षित गर्छ ।

अपि हिमाल आरोहण खुलाएर प्रदेशकै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको अपि हिमाल गाउँपालिकाले अपि हिमाल बेस क्याम्पसम्म भ्रमण गर्नका लागि आधारभूत पर्यटन संरचना निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष बोहराले हिमालको बेस क्याम्प भ्रमणका लागि आधारभूत संरचना निर्माण भएको बताए ।

२०७९ मा अपि हिमाल भ्रमण सप्ताह मनाएको गाउँपालिकाले सप्ताहले सफलता प्राप्त गरेपछि देश विदेशबाट पर्यटक ल्याउन भ्रमण वर्ष आयोजना गरेको अध्यक्ष बोहराको भनाइ छ । उनले घुसादेखि अपि हिमाल बेस क्याम्पसम्म ३० किलोमिटर पदमार्ग निर्माण गरिएको जानकारी दिए । उनले पदयात्रा सुरु गर्नुपर्ने मकरी गाड बजारमा पर्यटक सूचना केन्द्र सञ्चालनमा ल्याएको जनाए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.