राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० को आयोजना गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी उपत्यका समन्वय समितिले कार्यक्रम आयोजनाबारे जानकारी गराएको हो ।
कार्यक्रम आगामी असोज ११ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ । उक्त अवार्ड २४ वटा विधामा वितरण गरिने बताइएको छ । साथै, दीर्घ साधना सम्मानलगायत आठ अन्य विभिन्न विधामा पनि सम्मान प्रदान गरिने बताइएको छ ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा मगरले अवार्ड समग्र दोहोरी क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुलाई प्रदान गरिने बताए । उपत्यका समन्वय समितिले विभिन्न आठ वटा विधामा सम्मानित हुने व्यक्तित्वहरुको नामसमेत सार्वजनिक गरेको छ । समन्वय समितिले नगद राशीसहित लाईफ टाइम एचिभमेन्ट सम्मान कृष्ण सुधा ढुंगानालाई नगद राशीसहित प्रदान गर्ने बताएको छ ।
त्यसैगरी, संस्थागत श्रष्टा सम्मानबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानलेलाई प्रदान गरिने बताइएको छ । लोक गीतको क्षेत्रमा दश वर्षसम्मकोे योगदान र सफलतालाई सम्मान गर्दै एकनारायण भण्डारी दशक श्रष्टा सम्मान प्रदान गरिने अध्यक्ष थापा मगरले बताए ।
लोक संगीतलाई माथि उठाउनका लागि योगदान दिएका राजकुमार रायमाझीलाई लोक पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । सदावहार लोक गीतमा ‘बाबरी फूलको बोट’ गीतलाई सम्मान प्रदान गरिने अध्यक्ष थापा मागरले बताए ।

त्यसैगरी, लोकदोहोरी कलाकार साँझ सम्मान (नगद राशीसहित) कृष्ण आँशुलाई र लोकदोहोरी उपत्यका विशिष्ट सम्मान समाजसेवी सपना रोकालाई प्रदान गरिने बताइएको छ । लोकदोहोरी अवार्ड विशेष सम्मान शिव हमाललाई प्रदान गरिने बताइएको छ ।