डोटी – पशु चौपायामा फैलिएको लम्पी स्किन महामारीका कारण सुदूरपश्चिम प्रदेशमा १४ हजार ३९० पशु चौपायाको मृत्यु भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका सूचना अधिकारी पुष्कर नाथका अनुसार पशुमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण पशुपालन कृषकहरूको तीन करोडभन्दा बढी रकम बराबरको क्षति भएको छ । उनले भने ‘हालसम्म तीन लाख ४६ हजार ८०८ पशुमा लम्पी स्किन रोगको सङ्क्रमण भएको छ । कतिपय स्थानीय तहहरूले यस यो रोग विरुद्धको खोप समेत लगाएका छन् । उपचारको काम भइरहेको छ ।’

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका अनुसार लम्पी स्किन रोगका कारण सबैभन्दा बढी बैतडी जिल्लामा तीन हजार ४४९ र सबैभन्दा कम कञ्चनपुर जिल्लामा १ सय १९ पशुको मृत्यु भएको छ । यसैगरी डोटी जिल्लामा २ हजार ७५, अछाममा २ हजार २ सय ९१, डडेलधुरामा १ हजार ५३०, बझाङमा २ हजार ४२७, बाजुरामा ६९३, दार्चुलामा १ हजार ५३१ र कैलालीमा २ सय ७५ पशुको लम्पी स्किनका कारण मृत्यु भएको छ ।


कैलाली, कञ्चनपुर, बैतडी र बाजुरा जिल्लाका विभिन्न स्थानीय तहहरूमा पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । कैलालीमा ५ हजार ८००, कञ्चनपुरमा २ सय ९२, बैतडीमा ७ सय र बाजुरामा ३ सय २५ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । विभिन्न गैरसरकारी संस्थाहरूले पनि लम्पी स्किन रोगको उपचारका लागि स्थानीय तहसँग मिलेर काम गरिरहेका छन् ।

रोगका कारण पशुको मृत्यु भएपनि सरकारी स्तरबाट तथ्याङ्क सङ्कलन बाहेक प्रभावकारी रूपमा राहतका कार्यक्रमहरू सञ्चालन हुन सकेका छैनन् । लम्पी स्किन रोगका कारण पशुमा रोग लाग्ने र मृत्यु हुने भएपछि किसानलाई आर्थिक रूपमा भार परेको छ । दूध दिँदै गरेको भैँसी लम्पी स्किन रोगका कारण मरेपछि ऋण लिएर अर्को भैँसी किन्ने तयारीमा रहेको डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेगका देव ओलीले बताए । ओलीले भने ‘८० हजार पर्ने भैँसी थियो । बिहान बेलुका दूध दिन्थ्यो । उपचार नपाएर नै म¥यो । अव ऋण लिएर नयाँ भैँसी किन्नु पर्ने भयो ।’
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका अनुसार लम्पी स्किन रोगका कारण भएको क्षतिको विवरण प्रदेश स्तरको विपद् व्यवस्थापन समितिमा पेस गरिएको छ । विपद् व्यवस्थापन समितिको सिफारिसको आधारमा प्रदेश मन्त्री परिषद्ले निर्णय गरेपछि लम्पी स्किन रोग विरुद्धको खोपका साथै अन्य राहतका कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ ।