अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ की कृषक टिका देवी देउवा सम्मानित भएकी छन । उनलाई स्वर्गिय डाक्टर हरिहर देव पन्तको स्मृतिका अवसरमा निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले सम्मानित गरेको हो ।
बिहिबार एक कार्यक्रमका बीच देउवालाई कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती रानाले सम्मानित गरेकी थिईन । कार्यक्रममा बोल्दै उपप्रमुख रानाले लघुवित्तहरुले महिलाहरुलाई आर्थिक रुपमा माथि उकास्न मद्दत गरेको बताईन । आफुले पनि निर्धनकै कारण आफ्ना छोराछोरीहरुलाई पढाउन पाइरहेको बताउदै उनले हरेक उद्यमी महिलाहरुको सारथी लघुवित्तहरु रहेको बताईन ।


उनले संस्थामा आवद्ध सदस्यहरुको सहयोगले नै संस्था माथी उठ्ने भएकाले संस्थाको हितमा सदस्यहरुको महत्वपूर्ण हात रहने बताईन । ‘सदस्यहरुले आफुले लिएको ऋणको सही सदुपयोग गरे संस्था र आफु दुवैलाई फाईदा हुन्छ, तर त्यसको गलत प्रयोग गरे त्यसले ऋणीलाई मात्रै नभई संस्थालाई पनि डुबाउछ’ उनले भनिन् ‘तसर्थ संस्थाको हितका लागि आफुले लिएको ऋणको सही सदुपयोग गर्नुहोला ।’ उनले निर्धनले महिला कृषकलाई सम्मानित गर्दा अन्य महिलाहरुलाई पनि उद्यमी बन्ने उत्प्रेरणा मिलेको बताईन ।
संस्थाद्धारा सञ्चालित स्व. डाक्टर हरिहर देव पन्त फाउन्डेसन मार्फत उनलाई सम्मानित गरिएको संस्थाका सुदूरपश्चिम क्षेत्रिय प्रबन्धक गोकर्ण प्रसाद उपाध्यायले बताए ।
क्षेत्रिय प्रबन्धक उपाध्यायले आर्थिक विज्ञको रुपमा चिनिएका पन्त नेपालको ग्रामिण अर्थतन्त्रको जानकार भएकाले महिलाहरुको उत्थानका लागि उहाँले निर्धन आयोजना सञ्चालन गरेको बताए । ‘महिलाहरुलाई समुहमा आवद्ध गराएर विना धितो कर्जा लगानी नगरेसम्म नेपालको ग्रामिण अर्थतन्त्र माथि उठ्न सक्दैन, गरिवि निवारण हुन सक्दैन भन्ने उहाँको सोच थियो’ क्षेत्रिय प्रबन्धक उपाध्यायले भने ‘उहाँले आफ्नो सोचलाई मुर्त रुप दिन राष्ट्र बैंकको डेपुटी गर्भनरबाट राजीनामा दिएर निर्धन संस्था सञ्चालन गर्नुभएको हो ।’
निर्धनका संस्थापक पन्तको स्मृति दिवसका अवसरमा निर्धन आयोजनामा आवद्ध देशभरका उत्कृष्ट कृषक महिलाहरुलाई प्रत्येक वर्ष सम्मानित गर्ने गरिएको उनले बताए । उनले प्रत्येक वर्ष संस्थाले सात वटै प्रदेशका एक/एक जना महिला कृषकलाई सम्मानित गर्ने गरेको बताए । कार्यक्रममा कृषक देउवालाई नगद ५० हजार र प्रमाणपत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा संस्थाका विभिन्न क्षेत्रका सदस्यहरुको सहभागीता रहेको थियो ।



















