अछाम – जंगली जनावरका कारण अछामका किसानहरुले सास्ती खेप्नुपरिरहेको छ । बँदेल, भालु, बाँदर लगायतका जंगली जनावरहरुले लगाएको बाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन ।
मकै, धान लगायतका बालीहरु जंगली जनावरले नष्ट गर्न थालेपछि किसान समस्यामा परेका हुन । जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको किसानले बताएका छन् ।


राति घर बाहिर पहरा दिएर बस्दा पनि धान, मकैबाली जोगाउन नसकिएको मङ्गलसेन नगरपालिका–६ ठूलासैनका किसान सुवानाथ भण्डारीले बताए । अधिकांश खेतबारीमा किसानले होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बस्ने गरेका छन् भने फाटेका लुगाकपडा टाँगेर मान्छेजस्तै पुत्ला बनाएर पनि कुनै उपाय नलागेको किसानले बताएका छन् ।
जिल्लाको मङ्गलसेन नगरपालिका–६ लगायत विभिन्न लेकाली ठाउँमा जङ्गली जनावर बँदेलले धान, मकैबाली नष्ट गरेपछि किसान अहिले भोकमरी हुन्छ कि भन्ने चिन्तामा बसेका छन् । दिउँसोमा बाँदर तथा राति बँदेल र भालुका कारण किसानलाई पाक्न लागेको खेती जोगाउन समस्या परेको छ ।
जङ्गली जनावरले धान, मकैलगायतका बाली नष्ट गर्न थालेपछि रातभर जाग्राम बस्ने गरेको भण्डारीले सुनाए । जंगली जनावरबाट हुने समस्याको समाधानका लागि तथा हालसम्मको क्षतिपुर्तिका लागि स्थानिय पालिकाले पहल गरिदिनुपर्ने उनको भनाई रहेको छ ।



















