कञ्चनपुर – सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने प्रमुख सडक भीमदत्त राजमार्ग अवरुद्ध भएपछि पश्चिम तराईमा तरकारीको मूल्य आकाशिएको छ । पहाडी जिल्लाबाट नियमित रुपमा तरकारी ढुवानी हुन नसकेपछि तराईमा मूल्य आकाशिएको हो ।

अहिले पहाडी जिल्लाहरुबाट आउने आलु, बन्दा, काउली, बोडी र टमाटर लगायतको मूल्य झण्डै दोब्बर पुगेको छ । पहाडी जिल्लाबाट आउने आलु पाउनै मुस्किल हुन थालेको छ । ‘आलु ल्याउनै सकिएको छैन, ल्याएपछि भाडाले मूल्य दोब्बर भएको छ,’ महेन्द्रनगरस्थित सब्जीमण्डीका व्यवसायी विश्रामसिंह धामीले भने, ‘एक हप्तामा आलुको मूल्य दोब्बर भएको छ ।’

उनका अनुसार बाटो अवरुद्ध हुनुभन्दा अघि ४० किलोको आलुका बोरा महेन्द्रनगरमा १७ सयमा पुग्थ्यो । हाल सोही परिमाणको आलु ३२ सयमा पुगिरहेको छ । त्यतिबेला महेन्द्रनगरमा पहाडी नयाँ आलुको मूल्य प्रतिकिलो ४०र५० थियो । अहिले प्रतिकिलो ८० सम्म पुगेको छ । आलु मात्रै होइन बन्दा, काउली, बोडी, मुला र टमाटरको मूल्य समेत अनपेक्षित रुपमा बढेको छ ।

अहिले बन्दा प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ । एक हप्ताअघिसम्म बन्दाको मूल्य ४० थियो । काउली प्रतिकिलो ५० देखि बढेर ७० पुगेको छ । ‘डडेलधुराबाट पठाएको काउली चार दिनपछि महेन्द्रनगर पुग्यो,’ सब्जीमण्डीका अर्का व्यवसायी मानबहादुर पालले भने, ‘आधाभन्दा बढी बाटोमै बिग्रेर आएको छ, अब कतिमा कसरी बिक्री गर्नु ।’ अहिले महेन्द्रनगर बजारमो टमाटरको मूल्य प्रतिकिलो डेढ सय पुगेको छ ।
गत साता परेको ठूलो वर्षापछि पहाडी जिल्लाबाट आउने तरकारी मात्रै नभएर तराईमै उत्पादन हुने लहरे तरकारीको मूल्यसमेत दोब्बर भएको छ । एक हप्ताअघिसम्म प्रतिकिलो ५०र६० मा बिक्री भइरहेको लौका र फर्सी १ सयमा पुगेको छ ।
‘लगतारको वर्षाले स्थानीय उत्पादन घटेको छ, तरकारी फल्नै पाएको छैन,’ महेन्द्रनगर सब्जीमण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सोनारले भने, ‘पहाडबाट आउने तरकारी पनि ढुवानी भाडा बढेको छ ।’ उनकाअनुसार अहिले डडेलधुरा लगायत पहाडी जिल्लाबाट आउने तरकारी पहिरो गएको ठाउँमा पिठ्युमा बोकेर ल्याउनु परिरहेको छ । जसका कारण ढुवानी भाडा बढेको छ ।
यसैबीच तराईमा लौका र फर्सी उत्पादन घटेको छ । वर्षाले लहराहरु कुहिने, फूल झर्ने तथा फल लाग्नै नपाउने अवस्थाका कारण उत्पादन कम भएर महंगो भएको हो । उनका अनुसार अहिले यहाँ उत्पादन भएको टमाटर भारततर्फ समेत छिटफुट मात्रामा पठाइन थालेकाले महंगो भएको हो । यद्यपि कति टमाटर भारततर्फ जान्छ भन्ने विषयमा भने ठोस जानकारी नभएको उनले बताए ।
अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेपछि पहाडी जिल्लाबाट तरकारी ढुवानी हुन सहज भएमा मूल्य घट्ने व्यवसायीहरुको अनुमान छ । यसैगरी वर्षा कम भएमा तराईमा पनि तरकारीको उत्पादन बढ्ने अनुमान गरिएको छ ।
गत साता लगातारको अविरल वर्षाका कारण कैलालीको बुढीतोला क्षेत्रमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको हो । शनिबार साँझसम्म पनि सडक सुचारु हुन सकेको छैन । पहिरो पन्छाएर सडक सञ्चालनको प्रयास भइरहेको छ ।