अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक वर्षको अवधीमा करिब सवा करोड रुपैयाँ इन्धनमा खर्च गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले १ करोड २३ लाख ६९ हजार ५ सय ५६ रुपैयाँ इन्धनमा खर्च गरेको हो । उक्त आर्थिक वर्षमा इन्धनको खर्चवाफत नगरपालिकाले १ करोड ३६ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधिको पहिलो कार्यकालमै इन्धन खर्च करिब सवा करोडको हाराहारीमा पुगेको छ । नगरपालिकाको २०७९ साउन देखि २०८० असार सम्मको तथ्यांक अनुसार नगरपालिकाले दुई शिर्षकमा इन्धन खर्चको बजेट विनियोजन गरेको थियो ।

जसमध्ये कार्यालय प्रयोजनको लागि भनेर नगरपालिकाले ९६ लाख ५० हजार रुपैया विनियोजन गरेको थियो भने पदाधिकारीका लागि भनेर ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । कार्यालय प्रयोजनका लागि विनियोजन गरिएको बजेटमा नगरपालिकाले १२ लाख ८० हजार ४४४ भने खर्च गर्न बाँकि रहेको छ । नगरमा यातायातका साधनहरु बढी रहेको र ति साधनहरुको प्रयोगमा इन्धन खर्च भएको नगरपालिकाले जनाएको छ ।

सवारी साधन मर्मतमा ३० लाख
यसैगरी नगरपालिकाले गत आर्थिक वर्षमा मात्रै सवारी साधनको मर्मतका लागि ३० लाख रुपैया खर्च गरेको छ । नगरमा रहेका विभिन्न सवारी साधनहरुको मर्मतका लागि उक्त रकम खर्च गरिएको नगरपालिकाले जनाएको छ ।
नगरले गत आर्थिक वर्षमा सवारी साधनहरुको मर्मतका लागि उक्त रकम विनियोजन गरेको थियो । मर्मतका लागि विनियोजन गरिएको सम्पुर्ण रकम खर्च भएको नगरपालिकाले जनाएको छ । यसरी हेर्दा नगरले इन्धन र मर्मतमा मात्रै एक वर्षमा डेढ करोड भन्दा बढी रकम खर्च गरेको छ । नगरमा आम्दानीको स्रोत कम भएको अवस्थामा नगरले गरेको यस्तो फजुल खर्चले नगरमा आर्थिक भार थपिएको स्थानीयको आरोप रहेको छ ।