काठमाडौँ – विश्व खडेरीविरुद्ध संघर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०२६ को विश्व खडेरीविरुद्ध संघर्षको दिवसको विषयवस्तु ‘चरन क्षेत्र: पहिचान गरौँ, सम्मान गरौँ, पुनःस्थापना गरौँ ।’ भन्ने रहेको छ । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुदायले यो दिवस मनाउँदै आएको छ ।

यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दाहरु, भू–संरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ । जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ भने, त्यसको असर प्राकृतिक सम्पदा तथा मानव समुदायमा पर्न थालेको छ ।

खडेरीलाई प्राकृतिक असरका रुपमा पनि व्याख्या गर्ने गरिएको छ । स्थानीय मौसममा फेरबदल हुँदा भूमिको उत्पादक क्षमता घटेर उर्वर भूमि क्रमशः अनुत्पादक हुन थालेका छन् । नेपालमा पछिल्लो समय मध्य पहाडमा खडेरीको मार बढेको छ । खडेरीकै कारण बसाई सर्नेहरुको समेत संख्या बढेको छ ।
दिवस मनाउनुको मूल ध्येय धर्तीमा भएका जीवित वनस्पति र प्राणी जगतको संरक्षणबाट मानव जगतका लागि बस्न योग्य र सुन्दर पृथ्वी बनाउने हो ।


















