बैतडी – बैतडीमा ४२७ वटा साना तथा मझौला उद्योगहरु दर्ता भएका छन । एक बर्षको अवधिमा जिल्लामा ४ सय २७ उद्योग दर्ता भएका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सुचना अधिकारी लक्ष्मण कुमार साउँदले गत आर्थिक वर्षमा कृषि, वन, आटामिल, मसला, अचार लगायतका उद्योगहरु दर्ता भएका जानकारी दिए । उनका अनुसार वाणिज्यतर्फ १६३ पसलहरु दर्ता भएका छन् । जिल्लाभरी हालसम्म साना र मझौला गरेर ४ हजार १४ उद्योग रहेका उनले बताए ।

जिल्लामा दर्ता भएका उद्योगहरुबाट १ हजार ५१ जनाले प्रत्यक्ष रोजगारी पाएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख अम्बादत्त जोशीले बताए । उद्योगीहरुको क्षमता अभिवृद्धिका लागि कार्यालयले उद्यमी तालिमहरु समेत प्रदान गर्दै आएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक बर्ष २०७५/७६ देखि आर्थिक बर्ष २०७९/८० सम्म १ हजार ३१५ जना उद्यमीलाई तालिम दिएको जनाएको छ । गत आर्थिक बर्षमा कार्यालयले १५ लाख २२ हजार १२५ रुपैंया राजस्व संकलन गरेको जनाइएको छ ।



















