खाेज्नुहाेस

सुदूरपश्चिममा पशुपालन क्षेत्र तहसनहस हुँदै

Image

अत्तरिया – लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरका कारण सुदूरपश्चिममा पशुपालन क्षेत्र तहसनहस भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा लम्पी स्किन र तराइका जिल्लामा फैलिएको अफ्रिकन स्वाइन फिभरका कारण यस क्षेत्रको पशुपालन क्षेत्र तहसनहस भएको हो । तराइका जिल्लाको तुलनामा पहाडी क्षेत्रमा बढी फैलिएको लम्पी स्किनका कारण किसानहरु ठूलो आर्थीक नोक्सानी बेहोर्नु परेको छ । सुदूरपश्चिम प्रदेशमा लम्पी स्किनका कारण करिब २६ हजार पशु चौपाया मरिसकेका छन ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका अनुसार प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् भने ६ लाख ३४ हजार ७ सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । तीन वर्षदेखि छिटपुट रूपमा देखिन थालेको लम्पी स्किनका कारण अहिले किसानहरुले ठूलो क्षति बेहोर्नु परिरहेको छ ।

attariya hospital
navjiwan hospital

पशुपालन क्षेत्रमा यती ठूलो क्षति हुँदा पनि यो रोगको निवारणका लागि भने ठोस पहल हुन सकेको छैन । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीमा प्रमुख गुमानीदत्त पन्तले रोगको नियन्त्रणका औषधी र खोपको अभाव भएको बताए । उनले पालिकामार्फत काम भइरहेको भएपनि प्रयाप्त औषधी र आवश्यक खोप नहुँदा उपचारमा समस्या भएको बताए । यो रोगका कारण बैतडीमा नै सबैभन्दा बढी पशु चौपाया मरेका छन । बैतडीमा हालसम्म यो रोगका कारण ११ हजार १८ पशुचौपाया मरेका छन ।

तराइका जिल्ला कैलाली कञ्चनपुरमा फैलिएको अफ्रिकन स्वाइन फिभरका कारण पनि हालसम्म ५ हजारको संख्यामा बंगुर मरिसकेका छन् । पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेश प्रसाद जोशीले तराइका जिल्ला यो रोगले ठूलो क्षति पुगेको बताए । कैलालीको भजनी क्षेत्रमा २०७९ कात्तिकमा यो रोगको संक्रमणबाट एउटै फर्मका ४ सय बढी बंगुर मरेका थिए । डाक्टर जोशीका अनुसार नेपालमा अफ्रिकन स्वाइन फिभर पहिलो पटक २०७९ जेठ २ मा काठमाडौं उपत्यकामा देखिएको हो । अफ्रिकन स्वाइन फिभरको संक्रमण राष्ट्रिय निकुञ्जका बँदेलमा पनी देखीन थालेको छ । अफ्रिकन स्वाइन फिभरबाट बर्दिया राष्ट्रिय निकुञ्जमा दुई साताभित्र ४ वटा बँदेल मरेका छन् ।

बँदेलको पोष्टमार्टम पछि प्राप्त नमूनाको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट अफ्रिकन स्वाइन फिभरबाट मृत्यु भएको पुष्टि भएको हो । पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख जोशीले बर्दिया राष्ट्रिय निकुञ्जमा मृत फेला परेको बँदेलको पोष्टमार्टम गरी रोग यकिन गर्न नमूनाहरु संकलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । धनगढीबाट थप परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकोमा नमूना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर भएको पुष्टी भएको डा.जोशीले बताए ।

सुदूरपश्चिममा लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरका कारण किसानहरु विस्थापित भइरहेका भएपनि सरकारले भने अझै पनि यसलाई गम्भिर रुपमा लिएको देखिदैन । जसका कारण सुदूरपश्चिमको पशु पालन क्षेत्रमा दिर्घकालिन रुपमै उत्पादन घट्ने जोखिम देखिन थालेको छ ।