अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ५ गेटामा रहेको लक्ष्मी कत्था उद्योगबाट निस्किएको धुवाको मुस्लो बस्तीमा फैलिन थालेपछि जोखिम बढेको छ । पछिल्लो केहि महिना यता उद्योगबाट निस्कने प्रदुषणको मात्रा बढेपछि बस्तीमा जोखिम बढेको हो ।
स्थानीय रेशम चौधरीले पछिल्लो समय उद्योगबाट धुलो, धुँवा संगै फोहर पानी बढी मात्रामा निस्कन थालेको बताए । १८ बर्ष सोही उद्योगमा अपरेटरको काम गरेका चौधरीले पहिलेको तुलनामा उद्योगबाट निस्कने प्रदुषणको मात्रा अत्याधिक बढेको बताए ।

‘पहिले उद्योगमा खयर मात्रै प्रसोधन गरिदा कुनै समस्या थिएन । अहिले उद्योगमा भारतबाट ल्याइएको काजुको छिक्कल पनि प्रशोधन गरिन्छ’ उनले भने ‘अहिले प्रविधि पनि फरक प्रयोग गरिएकाले प्रदुषण झन बढेको छ ।’
उनले पहिलाको चिम्नीमा त्यस्तो समस्या नभएपनि अहिले नयाँ चिम्नी राखेर झन समस्या बढेको बताए । ‘पहिला पानी स्टिम गर्ने बोइलर पनि फरक किसिमको थियो । अहिले नयाँ ल्याएका बोइलरले प्रदुषण झन बढाएको छ । त्यसलाई स्टिम गर्नको लागि बढी हिट दिइन्छ । पङ्खा पनि चलाइन्छ जसमा तेल पनि हालिन्छ जसले गर्दा बढी धुवा आउन्छ’ उनले भने ‘पहिला यहाँबाट आउने पानी त्यती धेरै फोहर थिएन अहिले निकै फोहर र विषादी युक्त पानी आउन्छ । जुन पानीको सम्पर्कमा कुनै जनावर या मानीस आए छाला नै निस्कने गर्छ ।’

उनले अहिले उद्योगबाट निस्कने धुँवाको मुस्लो बस्तीका घर भित्र पस्ने गरेको बताए । उनले धुवाको मुस्लो गाउँमा पसेपछि सास फेर्न समेत समस्या हुने गरेको बताए ।
स्थानीय लक्ष्मन कुँवरले भारतमा प्रशोधन गर्न नमिल्ने काजुको छिक्कल प्रशोधन गर्दा समस्या भएको बताए । उनले व्यवसायीक नाफा बढाउनको लागि उद्योगले प्रदुषणको समस्यालाई वेवास्ता गरेको बताए । ‘१ बर्ष पहिले सम्म यहाँ रामै व्यवस्थापन थियो । अहिले समस्या आएको छ’ उनले भने ‘उद्योगले नाफा बढाउन नयाँ नयाँ प्रविधि थपेपनि वातावरणमा प्रदुषण बढेको बारे वेवास्ता गरेको छ ।’
उनले उद्योगमा कुनै गुनासो गरे आफूहरुले बस्ती नै नभएको ठाउँमा उद्योग संचालन गरेकाले अहिले बस्ती बढ्दा समस्या भएको जवाफ दिने गरेको बताए ।
वडा अध्यक्ष शुद्धिराम चौधरीले उद्योगबाट प्रदुषणको मात्रा बढेकाले आफुले पनि उद्योगलाई सजक गराएको बताए । उनले उद्योगलाई पत्र काटेर प्रदुषण नियन्त्रण गर्न भनेको बताए । उद्योगले प्रदुषण नियन्त्रण गर्ने भनेर सकारात्मक जवाफ दिएपनि अझै काम भने हुन नसकेको उनको भनाई छ ।
उद्योगका म्यानेजर रोशन कर्णले पुरानो चिम्नीबाट धुवा वाहिर लिग भएर बस्तीमा जान थालेपनि नयाँ चिम्नी फेरिसकेको बताए । उनले नयाँ चिम्नीमा पनि अहिले प्राविधिक समस्या आएकाले प्रदुषण बढेको स्वीकार गरे ।
‘प्राविधिक रुपमा समस्या भएको छ । यसलाई सुधार गर्नको. लागि हामीले अहिले भारतबाट प्राविधिक बोलाएका छौ’ उनले भने ‘अहिले चिम्नीमा केही प्राविधिक त्रुटी भएको छ त्यसलाई हामी सुधार गर्नेछौ ।’ उनले नयाँ चिम्नी फेरेको २० दिन जती मात्रै भएको बताए । उनले पुरानो चिम्नी सडिसकेकाले नयाँ फेरिएको बताए ।















