भगवानको नाममा अत्याचार, मन्दिर परिसरमा रक्सीको व्यापार

अत्तरिया – मन्दिरलाई पवित्र स्थलका रुपमा चिनिन्छ । जुन हिन्दु धर्मावलम्बिहरुको आस्था एवं श्रद्धाको केन्द्र पनि हो । मन्दिरमा मानिसहरु भगवानका नाममा शुद्ध र निराहार भएर श्रद्धापुर्वक पुजाआजा गर्छन् । यस्ता ठाउँमा हिन्दु धर्मले वर्जित गरेका काम गर्न कल्पना समेत गर्न सकिदैन । तर, कैलालीको अत्तरियामा भने एउटा यस्तो मन्दिर छ जहाँ खुलम्मखुल्ला रक्सी (मदिर) को व्यापार भइरहेको छ ।

maya metro hospital

गोदावरी नगरपालिका – २ वनखेतमा रहेको शिव मन्दिर परिसरमा व्यवसायीक प्रयोजनका लागि सटर निर्माण गरेर रक्सीको व्यापार भइरहेको छ । मन्दिरको नाममा रहेको जग्गामा दर्जनौको संख्यामा सटर निर्माण गरेर मदिराको व्यापार भइरहेको हो । पुर्वपश्चिम राजमार्गको किनारामा करिब ढाई विगा जग्गामा फैलिएको उक्त मन्दिरका पुर्व पट्टिको जग्गामा व्यवसायीक प्रयोजनका लागि मन्दिर व्यवस्थापन समितिले सटर निर्माण गरेर भाडामा दिएको छ । केही ठाउँमा जग्गा लिजमा दिएर पनि व्यापार व्यवसाय संचालन गरिएको छ । अर्को रोचक कुरा त के छ भने उक्त जग्गा भाडामा लिएर व्यवसाय गरिरहेका व्यवसायीहरुले बिगत २ बर्ष देखि भाडा समेत तिर्न बन्द गरेका छन ।

मन्दिरका नाममा व्यापार गर्ने योजना अनुसार सटर निर्माण गरेर भाडामा लगाइएको भएपनि हाल भाडा नै संकलन नगरेर लथालिङ्ग छोडिएको छ । स्थानीय व्यवसायीले पछिल्लो समय कोही पनि भाडा उठाउन नआएको दावी गरेका छन् । उक्त मन्दिरको व्यवस्थापनका लागि मन्दिर व्यवस्थापन समिति र मन्दिरको सचिवालय कार्यालय समेत स्थापना गरिएको छ । तर, उक्त सचिवालयमा लामो समय देखि लागेको ताला खोलिएको छैन् ।

attariya hospital

मन्दिरका पुजारी काली नाथ योगीले मन्दिरले आफूलाई पुजारीका रुपमा राखेपनि अहिले सम्म कुनै सेवा सुविधा नदिएको बताए । हाल मन्दिर परिसरमै घर बनाएर बसेका पुजारीले आफूले भिख मागेर खाने गरेको बताएका छन । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्प राज भट्टले मन्दिरको आयस्तर बढाउन ७ बर्ष अगाडी सटर निर्माण गरेर भाडामा दिने योजना बनाएको भएपनि पछिल्लो २ बर्ष देखि भाडा उठाउन नसकेको स्वीकार गरे । उनले भाडाका लागि बारम्बार सूचना टाँस गरेपनि कसैले नदिएको बताए । ‘सबै व्यवसायीहरु संग सम्झौता भएको छ । उनीहरुले जसरी भएपनि भाडा दिनुपर्छ’ उनले भने ‘तिनीहरुले भाडा तिरेनन् भने २ मिनेटमा डोजर लगाएर खालि गर्न सकिन्छ ।’

हाल मन्दिरको पुर्व पट्टि बिचमा सडक खोलेर दुइतर्फि व्यवसायीक सटर निर्माण गरिएका छन । अध्यक्ष भट्टले नदी किनारमा १५ फुट मोहडा भएको जग्गा बराबर मासिक ३ सय भाडा तोकिएको बताए । जसमा व्यवसायीहरुले आफै भौतिक संरचना निर्माण गरेका छन । मन्दिर पट्टिका सटर भने मन्दिर व्यवस्थापन समितिले नै निर्माण गरेर मासिक १ हजार भाडा लिने गरि दिइएको अध्यक्ष भट्टले बताए । उनले सटर निर्माण गर्नका लागि प्रत्येकबाट ७० हजार देखि १ लाख २० हजार सम्म धरौटी लिइएको बताए । उनले भाडा नदिए धरौटीबाट रकम काटिने बताए ।

‘एडभान्समा रकम लिएकाहरुले भाडा नदिए एडभान्सकै रकमबाट काट्न सकिन्छ’ उनले भने ‘जग्गा मात्रै भाडामा लिएकाहरुले भाडा नदिए तिनका संरचनामा डोजर लगाएर हटाउन सकिन्छ ।’ उनले त्यो सबै मन्दिरको सम्पती भएकाले कसैले पनि भाडा नतिरेर बस्न नसक्ने बताए । उनले मन्दिरको नक्सा तयार भएर लालपुर्जा ल्याउने काम मात्रै बाकी रहेकाले कसैले अतिक्रमण गर्न नसक्ने बताए ।

उनले मन्दिरको जग्गामा जाँड रक्सी बिक्री गर्न नपाउने सम्झौता गरेको दावी गरे । ‘सो क्षेत्रमा रक्सी बेच्न नपाउने एग्रिमेन्ट गरेका हौ । तर, पहिला तिनिहरुले चोरेर रक्सी बेचे अहिले खुल्लमखुल्ला बेचिरहेका छन’ उनले भने ‘म यो सबैको बिरोधी हँु ।’ अध्यक्षमा भट्ट ७ बर्ष अगाडी नियुक्त भएका थिए । स्थानीयले त्यसपछि साधारण सभा पनि नगरेर समितिले मनोमानी गरेको आरोप लगाएका छन । अध्यक्ष भट्टले अब छिटै मन्दिरको साधारण सभा गरेर मन्दिरलाई व्यवस्थित रुपमा अगाडी लग्ने दावी गरे । मन्दिरका सचिव निर्मल गुरुङको २ बर्ष अगाडी निधन भएको थियो । उनको सट्टामा हालसम्म कसैलाई पनि नियुक्त गरिएको छैन ।

स्थानीय कृष्ण प्रशाद जोशीले हाल मन्दिरको अवस्था देखेर निकै दुःख लागेको बताए । उनले मन्दिर परिसरमै व्यापारीले मदिराको कारोवार गरेको देखेर अचम्म लागेको बताए ।

३० बर्ष अगाडी स्थापना गरिएको उक्त मन्दिरमा हाल गौरा र तिजको अवसरमा मेला लाग्ने गरेको छ भने विभिन्न पर्वहरुमा स्थानीयले पुजाआज पनि गर्ने गरेका छन । मन्दिरमा विवाहका कार्यक्रम पनि संचालन हुने गरेका छन् । ३० बर्ष अगाडी उक्त स्थानमा नरहरी नाथले कोटी होम लगाएर मन्दिरको स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.