अत्तरिया – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको धर्नामा समर्थन जनाउँदै कैलालीको अत्तरियामा आज पनि युवाहरु सडकमा उत्रिएका छन् । ४ बुँदे माग राखेर शुक्रबार देखि काठमाण्डौंको माइतीघरमा पुनले सुरु गरेको धर्नामा समर्थन जनाउँदै अत्तरिया क्षेत्रका युवाहरु दोस्रो दिन सडकमा उत्रिएका हुन । सस्फुर्त रुपमा सडकमा उत्रिएका युवाहरुले महावीर पुनले उठाएका माग सम्बोधन गर्न माग गरेका छन ।
उनीहरुले सरकारलाई दवाव दिन बिभिन्न नारा लेखिएका बिभिन्न पोष्टर लिएर आधा घण्टा सडकमा उभिएका थिए ।
महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने । सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने। कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने माग राख्दै धर्ना कार्यक्रम सुरु गरेका छन ।