अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको निर्माणाधिन भवनको दोस्रो तलाको ढलान (छत) ठाउँ ठाउँमा चर्किएको पाइएको छ । एशियाली विकास बैंक (एडीवी) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत निर्माण भइरहको उक्त भवन हस्तान्तर नहुँदै छतमा चर्किएको पाइएको हो ।
उक्त भवन निर्माणका लागि एम/एस शर्मा एण्ड कम्पनी संग ठेक्का सम्झौता गरिएको थियो । २ तले उक्त भवनको छत चर्किएको केही ठाउँमा टालिएको भएपनि धेरै जसो ठाउँमा चर्किएका चिरा स्पष्ट देखिएका छन् । छतमा चिरा परेको देखिएपछि भवन कमजोर बनेको हो कि भन्ने आसंका स्थानीयले गरेका छन ।
निर्माण कम्पनीका साइड इन्जिनियर पारस खड्काले भने भवनमा अझै पनिङको काम बाँकी भएको बताए । ‘छतमा पनिङको काम बाँकी छ । अझै फिनिस भएको छैन’ उनले भने ‘कुनै ठाउँमा क्र्याक भएको होला । मेन्टिनेन्सको काम अझै बाँकी नै छ ।’
निकै सुस्त गतिमा निर्माण भइरहेको भन्दै चर्को आलोचना भइरहेको नगरपालिका भवन हस्तान्तरण अघिनै चर्किएपछि गुणस्तरमाथि पनि प्रश्न चिन्ह उठेको छ । भवनको छत मात्रै चर्किएको नभएर केही ठाउँमा पर्खाल समेत भत्किएको छ । तस्तै भवनको छतमा जाने ढोका पनि टुटेको छ ।
१० करोड ५५ लाख ५६ हजार ८१५ रुपैयाँको लागतमा २०७६ साल मंसिर २० गते भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । उक्त भवनको गोदावरी नगरपालिकाका तत्कालिन मेयर हरी सिह साउँदले काम सम्पन्न भएको भन्दै दाताले हस्तान्तरण नगर्दै २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए । उद्घाटन गरेर संचालनमा आउनुपर्ने भवन फिनिसिङको काम नसकिएको भन्दै हाल सम्म पनि प्रयोगमा आएको छैन । निर्माण कम्पनीले हाल भवनको गेट र पार्किङ स्थल निर्माणको काम जारी अन्तिम चरणमा रहेको जनाएको छ ।
२०७८ सालमै निर्माणको काम सकिनुपर्ने भवन निर्माणमा ढिलाई हुँदा हाल नगरपालिका २ वटा निजी भवनमा भाडामा संचालन भइरहेको छ । उता निर्माण व्यवसायीले भने सहरी विकास कार्यालयले समयमा बजेट उपलब्ध नगराउदा काममा ढिलाई भएको जनाएको छ ।
भेरियसन अर्डर (भिओ) गराएको भएपनि उक्त रकम आउन १० महिना भन्दा बढी समय लागेकाले काममा ढिलाई भएको निर्माण कम्पनीका साइड इन्जिनियर खड्काले बताए । उनले अहिले पनि करिब ढाई करोड भिओका लागि पठाएको भएपनि ४४ करोड मात्रै आएकाले काम संचालन गर्न समस्या भइरहेको बताए ।