धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम डेढ अर्ब भन्दा बढी रहेको देखिएको छ । महालेखा परिक्षककको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सुदूरपश्चिमको बेरुजु १ अर्ब ५४ करोड ९६ लाख २० हजार रहेको देखिएको हो ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०७९ अनुसार आर्थिक वर्ष २०७६–२०७७ सम्म ७७ करोड ७१ लाख ३९ हजार रुपैयाँ बेरुजु रहेकोमा आर्थिक वर्ष २०७७–०७८ मा ७७ करोड २४ लाख ८१ हजार रुपैयाँ थप भई प्रदेशको बेरुजु रकम १ अर्ब ५४ करोड ९६ लाख २० हजार कायम भएको छ ।

आर्थिक वर्ष २०७७–२०७८ मा प्रदेशको सरकारी कार्यालय र समिति तथा अन्य संस्थाबाट ३५ अर्ब ४९ करोड ७८ लाख ४५ हजार रकममध्ये ७७ करोड २४ लाख ८१ हजार रकम (दुई दशमलव १८ प्रतिशत) बेरुजु भएको छ । त्यसमध्ये ४८ करोड ४२ लाख १२ हजार रकम पेस्की बाहेकको बेरुजु रहेको छ ।
त्यस्तै, प्रदेशका सरकारी निकायबाट ४९ करोड ५८ लाख ५६ हजार र समिति तथा अन्य संस्थाबाट २७ करोड ६६ लाख २५ हजार रकम बेरुजु भएको छ । आर्थिक वर्ष २०७६–२०७७ सम्ममा प्रदेश सरकारी निकायको बेरुजु रकम ७२ करोड तीन लाख ७० हजार रहेको थियो भने समिति तथा अन्य संस्थाबाट पाँच करोड ६७ लाख ६९ हजार रुपैयाँ रहेको थियो । साथै प्रदेश सरकारको बेरुजु रकम मध्ये २ करोड ९३ लाख ११ हजार रकम असुल गर्नुपर्ने सो प्रतिवेदनमा औँल्याइएको छ ।


















