खाेज्नुहाेस

सफल परिक्षण पश्चात बैतडीमा गड्यौला मल उत्पादन शुरु

Image
फाईल फोटो

बैतडी – बैतडीमा गड्यौला मल उत्पादन शुरु गरिएको छ । जिल्लामा नमूनाको रुपमा सुरु गरिएको गड्यौला मलको सफल परीक्षण भएपछि उत्पादन सुरु गरिएको हो । फलफूलका बिरुवामा प्रयोग गर्ने उद्देश्यका साथ सुख्खा फलफूल विकास केन्द्र सतबाँझले गड्यौला मल उत्पादन शुरु गरेको छ ।

navjiwan hospital

केन्द्रका प्रमुख डम्मरसिंह भाटले सतबाँझको एरीयाभित्र गड्यौला मल उत्पादन स्थल निर्माण गरी मल उत्पादन गरिरहेको बताए । उनले मल उत्पादनका लागी धनगढीबाट गड्यौला ल्याईएको बताए । ‘गड्यौला मल उत्पादनका लागि धनगढीबाट गड्यौला ल्याएर उत्पादनस्थलमा राखेका छौ’ उनले भने ‘हामीले फार्मभित्रै गड्यौला मल उत्पादन गरिरहेका छौं । यो बोटबिरुवाका लागि निकै फाइदाजनक छ ।’ गड्यौला मल बोटबिरुवा तथा बारीका लागि निकै लाभदायक हुने गरेको उनको भनाई रहेको छ । गड्यौला मल उत्पादनस्थलमा गड्यौला पालन गर्ने र उनीहरुले झारपात खाएर मल उत्पादन गर्ने गरेको भाटले बताए ।

attariya hospital

भाटका अनुसार गड्यौला मल उत्पादनस्थलबाट अहिले सम्म ११ क्विन्टल मल उत्पादन भइसकेको छ । यो आर्थिक बर्षभित्र २० क्विन्टल मल उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । सुख्खा फलफूल विकास केन्द्रले बैतडीका किसानहरुलाई गड्यौला मल उत्पादनको तरीका सिकाउने उद्देश्यसहित गड्यौला मल उत्पादन गर्न थालेको जनाएको छ । विभिन्न ठाउँका किसानहरुलाई जैविक मल उत्पादनका बिषयमा जानकारी दिने गरिएको समेत केन्द्र प्रमुख भाटले बताए ।

चिसो ठाउँमा जैविक मल उत्पादन त्यति सहज नभएपनि बैतडीमा भने यो सम्भव भएको छ । केन्द्र प्रमुख भाटका अनुसार केन्द्रले टनेलभित्र गड्यौला राखेर मल उत्पादन गरिरहेको छ । अन्य मलको तुलनामा जैविक मल निकै मलिलो र लाभदायक हुने गरेको कृषि प्राविधिकहरु बताउँछन् । तराईतिर प्रतिकेजी ३० रुपैंयाका दरले गड्यौला मल अर्थात जैविक मल विक्रि हुने गरेको बताइएको छ । कौसी खेती गर्नेहरुका लागि यो मल निकै उपयोगी हुने भाटले बताए । गड्यौला मल मलिलो हुने भएकाले तरकारी खेतीका लागि समेत यो उपयोगी हुन्छ । थोरै मात्रा भएपनि यसले बोट विरुवा राम्ररी हुर्काउन धेरै सहयोग पु¥याउने गरेको छ ।