अत्तरिया – अझै पनि महिलाहरु पुरुषको दाजोमा सामाजिक, आर्थिक, राजनीतिक रुपमा पछाडी रहेका छन् । सहरबजारमा लगायत केही विकसित ठाउँहरुमा महिलाहरु तुलनात्मक रुपमा सबल हुन थालेपनि ग्रामिण भेगका महिलाहरु भने अझै पनि पुरुष भन्दा निकै पछाडी छन् । कैलालीमै सुगम ठाउँको दुर्गम क्षेत्रका रुपमा चिनिने ओलानी, चाप सल्ली लगायत पहाडी क्षेत्र अझै पनि विकास निर्माण संग संगै सामाजिक, आर्थिक र चेतनाको स्तरका हिसावले पछाडी छन् । त्यसमा पनि महिलाको अवस्था झन नाजुक छ ।
त्यसैले यस्ता ठाउँमा भौतिक विकास संगै सामाजिक सचेतनाका कार्यक्रको पनि उतिकै ठूलो अवश्यकता छ । केन्द्रिय राज्य शक्ताको ध्यान नपुगेका यस्ता ठाउँमा पछिल्लो समय स्थानीय स्तरको वडा सरकारले सचेतनाका कार्यक्रम संचालन गर्न थालेका छन् ।

वडा नम्बर १२ का वडा अध्यक्ष भीम बहादुर खड्काले आफ्नो वडामा भौतिक विकास संगै सामाजिक सचेतनाका कार्यक्रको आवश्यकता रहेको बताए । उनले वडामा अझै पनि महिला हिंसा, बालबिवाह, छुवाछुद, लगायत बिभिन्न रुढिवादी परम्परा अन्य ठाउँको तुलनामा बढी रहेको बताए ।
अहिले पनि यस क्षेत्रका महिला सचेत नहुँदा हिसां सहेर बस्ने गरेको उनले बताए । उनले समाजमा अन्यायमा परेकाहरुलाई सचेत गराउन वडाले बिभिन्न कार्यक्रम संचालन गर्न थालेको बताए ।
‘अहिले बाल विवाह, लागु औषध दुव्र्यसनी, बालविवाहको समस्या रहेका छन । अहिले पनि महिलाहरु धेरै पीडा सहेर बसेका छन । श्रीमानको इज्जतका लागि पनि मैले बाहिर बोल्नु हुँदैन भनेर पीडा लुगाउने गरिन्छ । धेरै कुराहरु बाहिर नआएर पनि महिला हिंसाबाट पीडित भएका छन’ उनले भने ‘यसरी सामाजको डरले पीडा लुगाएर बसेका महिलाहरुलाई बाहिर ल्याउन बिभिन्न सचेतनामुलक कार्यक्रममा जोड दिएका छौ ।’

सोही क्रममा सोमबार वडामा महिला सचेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी महिला शाखा प्रमुख गोदावरी खत्री (धामी) ले महिला सशक्तिकरणका लागि महिलाहरु आर्थीक रुपमा सबल हुनुपर्ने बताइन् । ‘महिलाले पुरुषको कमाइमा मात्रै निर्भर रहनु हुँदैन । पुरुषको कमाइबाट मात्रै घरपरिवार संचालन गर्न, बालबालिकाकाको पढाई गर्न समस्या हुन्छ’ उनले भनीन् ‘हामीले कुन किसिमको काम गर्न सक्छौ त्यस्ता काममा अग्रसर हुन आवश्यक छ । कृषिमा धेरै सम्भावना छन । महिलाहरुले कृषिलाई व्यवसायीक रुपमा अगाडी बढाउन सक्छन् ।’ उनले राज्यबाट दिइने सुविधा लिएर विभिन्न व्यवसायमुलक काम गर्न महिलाहरुलाई आग्रह गरीन् ।
उनले पछिल्लो समय महिलाहरु व्यवसायी बन्ने भन्दै सहकारी, लघुवित्त संस्थाबाट ऋण लिएपनि त्यसको उचित सदुपयोग गर्न नसक्दा झन आर्थिक रुपमा कमजोर बन्न थालेको बताइन् । उनले भनीन ‘अहिले सहकारीमा आवद्ध भएपनि महिलाहरुले ऋण लिएर घर खर्च गर्न थालेपछि समस्या भएको छ । जसले गर्दा महिला ऋणमा डुब्दा झन परिवारमा पनि समस्या आउने गरेको छ । यस समस्यामा पर्नु अघि नै सचेत हुन आवश्यक छ । ’
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी गणेश बरालले पैसा कमाउने लोभमा पछिल्लो समय महिलाहरु पनि लागु औषध जस्ता गैरकानुनी काममा लाग्न थालेको बताए । उनले पछिल्लो समय लागु औषध सहित महिलाहरु पनि पक्राउ पर्ने गरेकाले पैसा कमाउने होडमा यस्ता काममा नलाग्न आग्रह गरे ।
उनले पुरुष हिंसाबाट अझै पनि धेरै महिला पीडित भएको बताए । ‘पुरुषहरुले मादक पदार्थ सेवन गरेर पुरुष संगै महिलालाई पनि असर पर्ने भएकाले यसबाट महिलाहरु समस्यामा पर्ने गरेका छन । यसका लागि जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको छ’ उनले भने ‘जाडरक्सी खाएर होहल्ला गर्ने, महिलालाई दुव्र्यवहार गर्ने, गालिगलौज गर्ने गुनासो आएका छन । पुरुषहरुले मदिरा सेवन गरेर पैसाको पनि नोक्सानी गर्ने गरेका छन । जसबाट महिलाहरुलाई घर चलाउन समस्या हुन्छ । यसका लागि महिला नै आर्थिक रुपमा सबल हुन आवश्यक छ ।’
गोदावरी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम बडैलाले महिला सशक्तिकरणका लागि राज्यले थुप्रै लगानी गरेकाले त्यसको फाइदा लिन महिलाहरुलाई आग्रह गरे । उनले महिला हिंसा संगै स्वास्थ्यका बिषयमा पनि महिला सचेत हुन आवश्यक रहेको बताए ।
गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले महिलाको स्वास्थ्यको लागि आमा समुह, महिला स्वयसेविका जागरुक हुन आवश्यक रहेको बताए । उनले महिला स्वास्थ्यको हिसावले जटिल हुने भएकाले स्वास्थ्य भएमात्रै अन्य काममा महिला अग्रसर हुन सक्ने बताए ।
गोदावरी नगरपालिकाकी उपमेयर सारदा रोकायाले महिलाहरुले हिंसा सहेर बस्न नहुने बताइन् । ‘हिंसा सहनुभनेको राम्रो होइन् । हिंसा सहिरह्यो भने पीडा दिनेको झन झन हौसला बढ्छ’ उनले भनीन् ‘महिला दिदीबहिनीहरुले हिंसामा परे नजिकको प्रहरी कार्यालयमा गएर निवेदन दिनुहोला ।’ उनले महिला सशक्तिकरणका लागि महिला आर्थिक रुपमा सबल हुन आवश्यक रहेको बताइन् ।


















