अत्तरिया – चालु आर्थिक वर्षमा सवारी साधन कारबाहीबाट पौने चार करोड भन्दा बढीको राजश्व संकलन गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीले चालु आर्थिक वर्षको माघ मसान्त सम्म ३ करोड ५३ लाख २९ हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ भने फागुनमा २४ लाख १ हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ । फागुन १३ गतेसम्मको तथ्यांक अनुसार कार्यालयले कुल ३ करोड ७७ लाख ३१ हजार रुपैया राजश्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरिक्षक (एसपी) नेत्रमणी गिरीका अनुसार कार्यालयले चालु आर्थिक वर्षको माघ महिनामा मात्रै ६९ लाख ६८ हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा माघमा सबै भन्दा बढी राजश्व संकलन भएको एसपी गिरीले बताए । उनले माघ पछि पुषमा बढी राजश्व संकलन भएको बताए । चालु महिनाको १३ दिनमा मात्रै कार्यालयले २४ लाख १ हजार ५ सय रुपैया राजश्व संकलन गरेको उनले बताए । उनका अनुसार फागुन १३ गतेसम्म ४ हजार १ सय ३३ सवारी साधनहरु कारबाहीमा परेका छन ।

कार्यालयको तथ्यांक अनुसार पुषमा कार्यालयले ५३ लाख ५० हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको श्रावण महिनामा ४८ लाख ४ हजार रुपैया राजश्व संकलन गरेको कार्यालयले भदौमा ५० लाख ५६ हजार रुपैया राजश्व संकलन गरेको थियो । त्यतिमात्रै नभई असोजमा ४४ लाख ५३ हजार ५ सय, कार्तिकमा ४ लाख ४९ हजार र मंसिरमा सबैभन्दा कम ३७ लाख ६८ हजार रुपैया राजश्व संकलन भएको एसपी गिरीले बताए ।

उनले चालु आर्थिक वर्षको हालसम्म कार्यालयले ६१ हजार ५ सय ३० सवारी साधनलाई कारबाही गरेको उनले बताए । कारबाहीमा परेका सवारी साधनहरुबाट नै उक्त राजश्व संकलन भएको उनको भनाई छ । माघ महिनामा सबै भन्दा बढी सवारी साधनहरु कारबाहीमा परेको उनले बताए । उनका अनुसार माघमा ११८४१ सवारी साधनहरु कारबाहीमा परेका छन । यसैगरी श्रावण महिनामा ३६४, भदौमा ८८५६, असोजमा ७१७, कार्तिकमा ८४९१, मंसिरमा ६६७९ र पुषमा ९४८२ सवारी साधनलाई कारबाही गरिएको उनले बताए ।
कारबाही गरिएका सवारी साधनहरु मध्ये सबैभन्दा बढी स्कुटर तथा मोटसाईकलहरु रहेका छन । चालु आर्थिक वर्षको माघ महिनासम्ममा २५ हजार ५ सय २८ वटा मोटरसाईकल तथा स्कुटरहरु कारबाही गरिएको कार्यालयले जनाएको छ । जसवाफत १ करोड ४८ लाख ७० हजार राजश्व संकलन गरिएको एसपी गिरीले बताए ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधीमा नै ट्राफिक कार्यालय सुदूरपश्चिमले साढे ३ करोडको राजश्व संकलन गरिसकेको छ । गत आर्थिक वर्षमा कार्यालयले ५ करोड ४१ लाख ९४ हजार रुपैया राजश्व संकलन गरेको थियो । पछिल्लो ४ वर्षको तथ्यांक हेर्दा कार्यालयले राजश्व संकलनमा वृद्धि गर्दै आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा कार्यालयले ५६ हजार १ सय ५३ सवारी साधनलाई कारबाही गर्दै ३ करोड ३१ लाख ९९ हजार ५ सय रुपैया राजश्व संकलन गरेको थियो भने २०७७/०७८ मा ७९ हजार ८९ सवारी साधनलाई कारबाही गर्दै ४ करोड ५७ लाख ६७ हजार रुपैया राजश्व संकलन गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा भने ५ करोड भन्दा बढीको राजश्व संकलन गरेको थियो । कार्यालयले ९७ हजार १ सय ७ सवारी साधनलाई कारबाही गरी उक्त आर्थिक वर्षमा ५ करोड ४१ लाख ९४ हजार रुपैया राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको तथ्यांक हेर्दा कार्यालयले चालु आर्थिक वर्षको अन्त्य सम्ममा सबैभन्दा बढी राजश्व संकलन गर्ने अनुमान गर्न सकिन्छ । एसपी गिरीले सवारी चेकजाँचमा कडाई गरिदाँ राजश्व संकलनमा वृद्धि भैरहेको बताए । उनले नागरिकको सुरक्षा व्यवस्था बलियो बनाउन चेँकजाचमा कडाई गरिएको बताए । ‘चेकजाँचका क्रममा सचेतना गराईरहेका छौ’ उनले भने ‘चेकजाँचमा कडाई गरिदा दुर्घटनामा कमी आएको छ भने राजश्वमा पनि वृद्धि भैरहेको छ ।’ उनले चेकजाँचकै कारण ट्राफिक नियमको अवज्ञा गर्ने परिपाटी हटिरहेको बताए ।
दुर्घटनाबाट १०३ को मृत्यु
चालु आर्थिक वर्षमा सवारी दुर्घटनाबाट मात्रै १ सय ३ जनाले ज्यान गुमाएका छन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्त सम्म सुदूरपश्चिममा सवारी दुर्घटनामा परी १ सय ३ जनाको ज्यान गएको छ ।
जसमध्ये सबैभन्दा बढी कार्तिकमा २७ जनाले ज्यान गुमाएको एसपी गिरीले बताए । उनले श्रावणमा ११, भदौमा ९, असोजमा १२, मंसिरमा २२, पुषमा १२ र माघमा १० जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएको बताए ।
प्रदेशरभरी चालु आर्थिक वर्षको माघ मसान्त सम्म १७० वटा सवारी दुर्घटनाहरु भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २८५, २०७७/०७८ मा ५६२ र २०७८/०७९ मा ५०१ सवारी साधन दुर्घटनामा परेका थिए । सवारी दुर्घटनाको तथ्याकं हेर्ने हो भने पछिल्लो दुई वर्षको तुलनामा दुर्घटनाका घटनामा कमी आएको देखिन्छ ।