अत्तरिया – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सुदूरपश्चिमका मात्रै ४ सय भन्दा बढी उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्षको पुस मसान्त सम्म प्रदेशका सबै जिल्लाहरुका ४ सय ३७ उजुरी आयोगमा दर्ता भएका छन् । आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय कञ्चनपुरका अनुसार चालु आर्थिक वर्षको श्रावण महिनामा सबै भन्दा बढी र कार्तिक महिनामा सबै भन्दा कम उजुरी आयोगमा दर्ता भएका देखिन्छन् ।
श्रावणमा १४२ वटा उजुरीहरु आयोगमा दर्ता भएको तथ्यांकले देखाएको छ । आयोगको तथ्यांक अनुसार भाद्रमा ८४, असोजमा ५१, कार्तिकमा ३६, मंसिरमा ६० र पुषमा ६४ वटा उजुरीहरु दर्ता भएका छन् । पछिल्लो ५ वर्षको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी उजुरी आयोगमा परेका देखिन्छन् ।
उक्त आर्थिक वर्षमा मात्रै ९१२ वटा उजुरीहरु आयोगमा दर्ता भएको आयोगका सूचना अधिकारी नारायण प्रसाद ढकालले बताए । उनले आर्थिक वर्ष २०७४/०७५ मा भने सबैभन्दा कम उजुरी दर्ता भएका बताए । उनका अनुसार उक्त आर्थिक वर्षमा ५८८ वटा उजुरी मात्रै आयोगमा दर्ता भएका छन् । आयोगको तथ्यांक अनुसार आ.व २०७५/०७६ मा ७३४, २०७७/०७८ मा ९०७ र २०७८/०७९ मा ७०७ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये गत आर्थिक वर्षका ६७८ उजुरी फछ्र्यौट गर्न बाँकी रहेको आयोगले जनाएको छ ।
चालु आर्थिक वर्षको मंसिर मसान्त सम्मको तथ्यांक अनुसार प्रदेशभरीमा सबैभन्दा बढी उजुरी कैलालीबाट दर्ता भएको सूचना अधिकारी ढकालले बताए । उनले कैलालीबाट मात्रै १५४ वटा उजुरीहरु आयोगमा दर्ता भएको बताए । जसमध्ये ५२ वटा उजुरीहरु फछ्र्याैट भैसकेको र बाँकी उजुरीहरु अझै प्रकृयामै रहेको उनले बताए ।
जिल्लागत रुपमा हेर्ने हो भने कैलालीपछि कञ्चनपुरबाट बढी उजुरी दर्ता भएका छन भने त्यसपछि बैतडीबाट पनि बढी उजुरी दर्ता भएको ढकालले बताए । उनका अनुसार कञ्चनपुरबाट ७४ र बैतडीबाट ५५ वटा उजुरीहरु आयोगमा दर्ता भएका छन । त्यस्तै डोटीबाट ३६, बझाङ र डडेल्धुराबाट ३५/३५, बाजुराबाट ३०, अछामबाट २४ र सबैभन्दा कम दार्चुलाबाट २३ वटा उजुरीहरु आयोगमा दर्ता भएको उनले बताए ।
गोदावरीका १३ उजुरी दर्ता
कैलालीको गोदावरी नगरपालिकाका मात्रै १३ वटा उजुरीहरु आयोगमा दर्ता भएको तथ्यांकले देखाएको छ । तथ्यांकका अनुसार नगरपालिकाका चालु आर्थिक वर्षका ९ वटा र गत आर्थिक वर्षका ४ वटा उजुरीहरु गर १३ वटा उजुरीहरु आयोगमा दर्ता भएका छन ।
जसमध्ये चालु आर्थिक वर्षमा मात्रै ९ वटा उजुरीहरु फछ्र्यौट भैसकेका छन । बाँकी रहेका ४ वटा उजुरीहरु प्रकृयामै रहेको आयोगले जनाएको छ ।