अत्तरिया – कैलालीको गोदावरीमा झण्डै ४० बर्ष अगाडी फलाम र काठको प्रयोग गरी निमार्ण गरिएको पुल जीर्ण बनेको छ । कुनै सयम ७ पहाडी जिल्ला जोड्ने उक्त पुल अहिले सवारी आवागमनका लागि प्रयोग नगरिएको भएपनि गोदावरीमा घुम्न आउने पर्यटकको भने पहिलो रोजाइमा पर्दै आएको छ । गोदावरीमा घुम्न आउने जो कोही पनि उक्त पुलमा पुगेर फोटो खिच्न छुटाउँदैनन् । तर, पछिल्लो समय पुल जीर्ण हुँदा पुल हेर्न आएका पर्यटक दुर्घटनामा पर्ने जोखिम छ ।

पुलमा सवारी साधनमा रोक लगाइएको भएपनि पैदल हिडडुल गर्न र पुलमा रमाउनेहरुले सधैजसो भरीभराव हुन्छ । पुल पैदल यात्राका लागि जोखिमपूर्ण नगरहेको जानकारहरुले बताएपनि पुलको माथि ओछ्याइएका काठ भने कुहिएकाले दुर्घटनाको जोखिम बढेको हो ।

लामो समय देखि पुललाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नुपर्ने आवाज उठाउँदै आएका थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले पुलका काठ कुहिएकाले फेर्न आवश्यक भइसकेको बताए । ‘पुलको स्टक्चर अझै पनि बलियो छ । पुल पर्यटकिय रुपमा प्रयोग गर्न जोखिम छैन’ उनले भने ‘पुलको बीचमा प्रयोग गरिएका काठ भने फेर्नुपर्ने आवश्यक छ । ति काठको ठाउँमा टिनका पाता हालेर पनि प्रयोगमा ल्याउन सकिन्छ ।’
उनले पुलमा पर्यटकको आकर्षण बढाउनका लागि पुलमा सुदूरपश्चिमका ९ वटै जिल्लाको पहिचान झल्कने बस्तु राख्न सकिने बताए । उनले पुल संगै पुल वरपरको भागलाई पार्कका रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

गोदावरी नगरपालिका ४ मा पर्ने उक्त पुलको संरक्षणका लागि वडा कार्यालयले पनि चालु आर्थीक बर्षमा ४ लाख बजेट विनियोजन गरेको छ । वडाध्यक्ष हेम प्रकाश मल्लले वडाको बजेटबाट पुलको किरानारा जाली लगाउने वा रंगरोपन गर्ने भन्ने निर्णय गर्न नसकिएको बताए । ‘पुल जीर्ण भएकाले मर्मत गर्न पनि आवश्यक छ । पुललाई रंगरोपन पनि गर्नुपर्ने छ । पुलको किनारामा घेरबार नभएकाले दुर्घटनाको जोखिम पनि उत्तिकै छ’ उनले भने ‘वडाको बजेट थोरै भएकाले कुन कामलाई प्राथमिकता दिने भन्ने निर्णय गर्न सकेका छैनौं ।
उनले पुललाई पर्यटकिय क्षेत्रका रुपमा अझै व्यवस्थित बनाउनको लागि नगरपालिकाबाटै ४४ लाख ५० हजारको स्टमेट बनाएर पर्यटन मन्त्रालयमा पठाएको बताए । उनले पर्यटन मन्त्रालयले उक्त स्टमेट अर्थ मन्त्रालयमा पठाएको आफूले जानकारी पाएपनि बजेट विनियोजन भए नभएको बारेमा भने जानकारी नपाएको बताए । ‘हामीले पुलमा जाली लगाउने, माथि झण्डा लगाउने, कुहिएका काठ फेर्ने, खानेपानीको धारा निर्माण गर्ने, शौचालय निर्माण गर्ने, पिकनिक भवन निर्माण गर्ने योजना स्टमेटमा समेटेका छौ’ उनले भने ‘अर्थ मन्त्रालयबाट बजेट आएमा यी काम अगाडी बढ्छन् ।’
उनले पुल पर्यटनको रोजाइमा परेपनि अहिले जोखिम पनि उत्तिकै रहेको बताए । उनले पुलबाट ३ जना खोलामा खसिसकेकाले पुललाई सुरक्षित बनाउ पुलको किनारामा जालि लगाउन आवश्यक रहेको बताए ।
सुदुरपश्चिम प्रदेशका तराईका दुई जिल्ला र पहाडी सात जिल्ला संग जोड्ने गोदावरीको पुरानो पुलबाट गोदावरी क्षेत्रको सम्पुर्ण दृष्य अवलोकन गर्न सकिने भएकाले प्रर्यटकको मुख्य आकर्षणका रुपमा रहेको छ । ७ पहाडी जिल्ला जोड्ने उक्त पुल सवारी साधन चलाउन योग्य नभएको भन्दै नयाँ पक्की पुल निर्माण गरिएको भएपनि गोदावरी क्षेत्रमा जाने अधिकान्स प्रर्यटकहरु भने पुरानै पुलमा घुम्न जाने गरेका छन् ।
पुलमा सामान्यतया दिनमा ३०/४० पर्यटक आउने गरेका भएपनि बिदा र चाडपर्वका बेला भने २ देखि ३ सय जना भन्दा बढी घुम्न आउने गरेको स्थानीय बताउँन्छन । धार्मिक र पर्यटकीय स्थलका रूपमा फस्टाउँदै गएको गोदावरी क्षेत्र पछिल्लो सयम पिकनिक ‘स्पट’ का रूपमा पनि विस्तार हुँदै गएको छ ।
