३ बर्षदेखि गोदावरीमा ध्यान गर्दै ‘ब्राजिल बाबा’

अत्तरिया – ‘नजिकको तिर्थ हेला’ भनेझै यस क्षेत्रका मानिसले त्यती चासो नदेखाउने गरेको गोदावरीमा ब्राजिलबाट आएका एक युवा भने विगत ३ बर्षदेखि ध्यान गरेर बसेका छन । सन्यासीहरुका कुटी र मठ मन्दिर भएको कैलालीको गोदावरी नदी पारिपट्टि पहाडको फेदीमा उनी ध्यान गरेर बसेका हुन् । जुन क्षेत्र गोदावरी धाम भन्दा करिब ५ सय मिटर माथि पर्छ ।

maya metro hospital

जुन ठाउँलाई गोरखधुना नामले समेत चिनिन्छ । उक्त क्षेत्रमा गोरख नाथले त्रिसुल गाडेको बिश्वास गरिन्छ । उक्त ठाउँमा सालको रुखमुनि बाजुराका गेडे खड्का १२ वर्षसम्म ध्यानमा बसेको जानकारहरु बताउन्छन् । ती सन्तको मृत्युपश्चात उनको समाधि भएकै ठाउँमा नौ वर्षअघि गोरख धुनि स्थापना गरिएको थियो । सोही क्षेत्रमा हाल ब्राजिलबाट आएको बताउने ‘ब्राजिल बाबा’ नामले चिनिने युवा बस्दै आएका छन् । ब्राजिलबाट आएका उनले हाल आफ्नो नाम महाराज शिवनाथ राखेका छन् ।

ब्राजिलमा सेनाको जागिर छोडेर भौतारिँदै भारत पुगेका उनी बुद्ध दर्शन, भागवत गीता, वेद र विभिन्न पुराणसँग सम्बन्धित प्रवचनहरू सुनेपछि हिन्दु धर्ममा लागेका थिए । भारतको महाराष्ट्रस्थित नासिकमा उनले गुरु योगी आदिनाथ महाराजबाट दिक्षा लिएका थिए । गुरुबाटै पशुपति नाथ र गोरखनाथको बारेमा जानकारी पाएका उनी ५ बर्षे भारतीय यात्रा टुङ्ग्याएर सात वर्षअघि नेपाल आएका थिए ।

attariya hospital

त्यसपछि नेपालका बिभिन्न मन्दिर घुमेका उनी ३ बर्ष अघि बैतडी, बझाङ्ग, डडेल्धुरा, डोटी लगायतका जिल्ला घुमिसकेपछि गोदावरीमा बसेका हुन ।

पछिल्लो समय उनले नेपाली भाषा पनि सिकिसकेका छन । उनले ज्ञान आर्जनको लागि गोदावरी एकदमै उपयुक्त ठाउँ भएको बताए । ‘४ जना बाबा यो क्षेत्रमा बस्दै आएका छौ । माघमा अरु बाबा पनि आउने छन् । सो अवसरमा भजन कृतन, कथा, भगवत पुराण लगाइने छ’ उनले भने ‘ध्यान आर्जनको लागि यो ठाउँ राम्रो छ । अरु पनि यहाँ आउन्छन । यो संस्कार सिक्नको लागि यहाँ आउन सकिन्छ ।’

३१ बर्षीय शिवनाथ (ब्राजिल बाबा) ले १२ बर्ष देखि ज्ञान आर्जनका लागि ध्यान गर्न लागेको बताए । उनले गोदावरीमा बस्दा निकै आनन्दित महशुस गरेको बताए । ‘यो क्षेत्र धेरै राम्रो छ । धुनीको टाउको हिमालय क्षेत्र, पुरानो संस्कृति पुरानो सभ्यता, ऋषिमुनि देवभूमि पुन्यभूमि हो’ उनले भने ‘यहाँको कला संस्कृति ज्ञान सिक्न धेरै ऋषिमुनि यहाँ आइरहेका छन । यहाँ तपस्या गर्छन् ।’

उनले आफूले यस क्षेत्रका बारेमा किताब लेखिरहेको बताए । हाल उनी बिहान चार बजे उठेर स्नान गरी ६ बजेसम्ममा जप ध्यान गर्ने गरेका छन । उनले आश्रममा पछिल्लो समय भक्तहरू पनि पुग्ने गरेको बताए । उनी प्राकृतिक सम्पदाको संरक्षण गरी ज्ञानको मार्ग फराकिलो बनाउनुपर्ने बताउन्छन् ।

सातवटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वारको रुपमा रहेको गोदावरीलाई विगतमा आत्रेय ऋषिको आश्रम भएको ठाउँको रुपमा पनि चिनिन्छ । महाभारत कालमा पाण्डवहरू बास बसेको ठाउँका रुपमा समेत गोदावरी चिनिन्छ । शिवनाथ (ब्राजिल बाबा) बसेपछि हाल सो क्षेत्र व्यवस्थित बन्दै गएको छ । हाल बिभिन्न संघसस्थाको पहलमा सो क्षेत्रमा घेरबार गर्ने र, बिरुवा रोप्ने काम भइरहेको छ ।

‘अहिले यस क्षेत्रमा बिरुवा रोपिएका छन् । घेरवार पनि गिरिएको छ’ उनले भने ‘अलिहे गोरखधुना क्षेत्र व्यवस्थित बन्दै गएको छ ।’ उनले आफू कहिले सम्म गोदावरीमा बस्ने भन्ने बारेमा भने आफैलाई जानकारी नभएको बताए । ब्राजिलबाट भारत हुँदै नेपाल आएका उनले हाल परिवार संग कुनै सम्पर्क नभएको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.