अत्तरिया – चार महिनामा १ किलोमिटर सडक कालोपत्रे सक्ने गरी सम्झौता गरेको ठेकेदारले ३ बर्षसम्म पनि काम नसकेकोे भनेर सुन्दा अचम्म लाग्न सक्छ । ठूला योजनामा ठेकेदारले लापरवाही गरेर बर्षौसम्म काम लम्ब्याउने गरेका भएपनि करिब ४८ लाखमा १ किलोमिटर मात्रै शाखा सडक कालोपत्रे गर्ने काममा पनि ३ बर्ष लागेको भने विरलै देखिन्छ । तर, उक्त नियतीको सिकार कैलालीको गोदावरी नगरपालिका – ४ बसन्तपुरका स्थानीय भएका छन । जसका कारण ३ बर्ष अगाडी नै चिल्लो सडकमा हिड्ने सपना बोकेका स्थानीय अहिले धुलो खान बाध्य छन् ।

गोदावरी नगरपालिकाले आर्थीक बर्ष २०७६/०७७ मा राजमार्ग देखि शान्तीटोल जाने १ किलोमिटर सडक कालोपत्रे गर्ने योजना ल्याएको थियो । जसको ठेक्का कञ्चनपुरको आकाश पवन कन्ट्रक्सनले पाएको थियो । उक्त कन्ट्रक्सन कम्पनी संग नगरपालिकाले २०७६ माघ १० गते सम्झौता गरेको थियो । ४ महिनामा सक्ने गरी ठेक्का भएपनि ठेकेदारको लापरवाहीले काम तोकिएको समयमा हुन सकेन् । त्यसपछि कोरोनाले काम लम्बियो । नगरपालिकाले ८९ लाखको स्टमेट बनाएको भएपनि कन्ट्रक्सनले ४७ लाख ९५ हजारमै काम सक्ने गरी सम्झौता गरेका थिए ।

स्थानीय पुष्पराज भट्टले सुरुवाती चरण र ६ महिना अघि गरेर ठेकेदारले २ पटक वेस हालेर रोलिङ गरेको भएपनि कालोपत्रे नगरेको बताए । उनले सडक कालोपत्रे गराइदिन पटक–पटक नगरपालिकामा अनुरोध गरेको भएपनि काम नभएको बताए । ‘नगरपालिकाले ठेकेदारलाई कालो सूचिमा हाल्छौ भन्छ । ठेकेदारलाई कालोसूचिमा हालेर नयाँ ठेक्का गर्नुपर्ने हो’ उनले भने ‘ठेकेदारलाई फोन गरे उठाउँदैन् । हामीले सघर्ष समिति बनाएर दवाव दिएपनि काम भएन् ।’

स्थानीय विनोद मल्लले कोरोना अघि नै सकिनु पर्ने सडक कोरोना पछि पनि काम नगर्दा जस्ताको त्यस्तै रहेको बताए । ‘हामीले नगरपालिकाम पनि पटक–पटक किन काम भएन भनेर सोधिखोजि गरेका हौ’ उनले भने ‘नगरपालिकाले ठेकेदारलाई पनि पत्र काटेको थियो । त्यसपछि पनि किन ठेकेदार आएनन् हामीले बुझ्न सकेका छैनौ ।’
सडक नबन्दा अहिले स्थानीयले धुलो खानुपर्ने बाध्यता रहेको छ । ठेकेदार नै वदमास भएका कारण समयमा काम नभएको स्थानीयको गुनासो छ । ‘यो ठेकेदार धेरै विलोमा टेन्टर आफ्नोमा पार्ने र त्यसपछि काम नगरी कमिसन राखेर अरुलाई पेटि ठेक्कामा काम गराउने रहेछ’ नाम नबताउने सर्तमा एक स्थानीयले भने ‘यो ठेकेदार संग कुनै पनि साधन श्रोत छैन् । यो ठेक्कलाई पनि उसले अरुलाई बेच्न खोजेको थियो । तर, निकै कम रकम भएकाले कसैले काम गर्न नमान्दा यो लथालिङ्ग रह्यो ।’ उनले कामै नगर्ने ठेकेदार पाएर आफुहरुले दुःख पाएको बताए ।
कालोसूचीमा राख्ने तयारी
गोदावरी नगरपालकाले भने ठेकेदारलाई कालोसूचिमा राख्ने तयारी भएको जनाएको छ । नगरपालिकाका इन्जिनियर लोकेन्द्र खड्काले आशिष खत्रीले संचालन गरेको आकाश पवन कन्ट्रक्सनलाई कालोसूचिमा राख्न सार्बजनिक खरिद अनुगमन कार्यालयमा पत्राचार गरेको बताए । उनले पुरानो ठेक्का भएकाले धेरै कुरा आफूलाई जानकारी नभएको बताए ।
इन्जिनियर जनक खड्काले ठेकेदारलाई अहिले सम्म भुक्तानी नगरिएको बताए । उनले भने ‘ठेकेदारले वेसको काम गरेका छन । तर, ठेकेदारले पेमेन्ट लगेका छैनन् । हाल सम्म करिब ७० प्रतिशत काम भएको होला ।’ उनले सार्बजनिक खरिद अनुगमन कार्यालयले आकाश पवन कन्ट्रक्सनलाई कालोसूचिमा राख्न केहिदिन अघि थप कागजात माग गरेकाले पुनः पठाइएको बताए । उनले भने ‘पछि सार्बजनिक खरिद अनुगमन कार्यालयमा थप कागजात पठाएपछि कुनै प्रतिक्रिया आएको छैन् ।’ नगरपालिकाले ठेकेदारलाई कालोसूचिमा राखेर नयाँ ठेक्का मार्फत काम गराउने जनाएको छ ।
