अत्तरिया – कैलालीको अत्तरियामा विद्युत वितरण केन्द्र निर्माण हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले बजेट विनियोजित गरेसँगै अत्तरियामा पनि विद्युत वितरण केन्द्र निर्माण हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुर्य नारायण मण्डलले गोदावरी नगरपालिकाले जग्गा उपलब्ध गराएसँगै भवन निर्माणको प्रकृया सुरु भएको बताए । उनले विद्युत प्राधिकरणले केन्द्रबाटै उक्त भवन निर्माणका लागी ६० लाख रुपैया छुट्याईसकेको बताए । ‘अत्तरियामा भवन निर्माणको लागी बजेट आईसकेको छ, अब ठेक्का प्रकृया सुरु हुन्छ होला’ उनले भने ‘केन्द्रबाट ठेक्का सुरु गरेलगत्तै भवन निर्माणको काम सुरु भैहाल्छ ।’

उनले धनगढी वितरण केन्द्रकै मातहतमा रहने गरी अत्तरियामा वितरण केन्द्र सञ्चालन हुने बताए । ‘मेयरसापले जग्गा दिनुभयो, त्यहाँ जग्गा उपलब्ध हुने वित्तिकै हामीले बजेटको व्यवस्थापन ग¥यौँ’ उनले भने ‘अब त्यहाँ वितरण केन्द्रको आफ्नै प्रशासनिक भवन बन्नेछ ।’ उनले अत्तरियामा विद्युत वितरण केन्द्र सुरु भए नगरबासीहरुले छिटोछरितो रुपमा राम्रो सेवा सुविधा पाउने बताए ।
आफु निर्वाचित भएर आएदेखि नै नगरप्रमुख विरेन्द्र भट्टले अत्तरियामा विद्युत वितरण केन्द्रको आवश्यकताका विषयमा छलफल गर्दै आएका थिए । उनले अत्तरियामा विद्युतिकरणका लागी वितरण केन्द्र आवश्यक रहेको भन्दै अत्तरियामै अलग वितरण केन्द्र ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रतिवद्धता गरेअनुरुप नै बजेट विनियोजन भएपछि नगरप्रमुख भट्टले अब गोदावरीमा विद्युतिकरणको समस्या नहुने बताए ।

‘नगरपालिका क्षेत्र भित्र विद्युतिकरणको ठूलो समस्या देखा परिरहेको अवस्था छ । नगरका विकट क्षेत्रहरुमा त कतिपय ठाउँमा विद्युतिकरण नै पुगेको छैन, पुगेका ठाउँमा पनि लो भोल्टेजको समस्या छ’ उनले भने ‘त्यसको समाधानका लागी अत्तरियामा एउटा वितरण केन्द्र अनिवार्य आवश्यक थियो, त्यो ल्याउने मेरो प्रयास सफल भयो ।’ उनले केन्द्र स्थापनाका लागी हाल रहेको नगरपालिकाको भवन अगाडीपट्टिको ५ कट्टा २ धुर जमिन उपलब्ध गराईएको बताए । उनले यसैवर्ष केन्द्रको भवन बन्ने पनि बताए । ‘यसैवर्ष केन्द्रको भवन बन्छ, भवन बनेपछि वितरण केन्द्रको रुपमा यहाँ कार्यालय आउँछ’ उनले भने ‘त्यसपछि नगरमा भएका विद्युतका समस्याहरु सबै समाधान हुनेछन भन्ने पनि अपेक्षा लिएको छु ।’

आईतबार नगरप्रमुख भट्टले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पनि भेटवार्ता गरेका थिए । भेटका क्रममा नगरक्षेत्रका विद्युतिय समस्याहरु र त्यसको समाधानका लागी गरिनुपर्ने प्रयासहरुका बारेमा छलफल भएको उनले बताए । ‘उहासँगको भेटमा नगरका विद्युतिय समस्याहरु मैले राखेको थिए’ उनले भने ‘गोदावरीको विद्युत हेर्ने जिम्मेवारी धनगढी वितरण केन्द्रको हो, उहाँले वितरण केन्द्रका प्रमुख मण्डल सरलाई स्पष्ट रुपमा यहाँका समस्याहरु तत्काल समाधान गर्ने किसिमले अगाडी बढ्नुहोला भनेर सुझाव दिनुभएको छ ।’
उनले प्राईभेट क्षेत्रबाट विद्युतको काम गर्ने जिम्मा लिएका संस्थाहरुको बारेमा पनि छलफल भएको बताए । ‘प्राईभेट क्षेत्रबाट जिम्मेवारी लिएका संस्थाहरुले भनेअनुसारको काम नगरेको यहाँका नागरिकहरुले गुनासो गर्ने गरेका छन’ उनले भने ‘उहाँहरुलाई मैले पटक पटक भनिपनि सकेको छु, हालसम्म उहाँले पब्लिकका गुनासाहरु पुरा गर्न नसकेको अवस्था छ, यस्तै अवस्था रहे उहाँहरुले जिम्मेवारीबाट छोड्नुपर्छ ।’
उनले अत्तरियामा वितरण केन्द्र स्थापना भएपश्चात पनि त्यस्तै समस्याहरु दोहोरीए त्यस्ता प्राईभेट संघसंस्थाहरु सँगको सम्झौता खारेज गरिने बताए । उनका अनुसार अत्तरियामा विद्युत वितरण केन्द्र निर्माण भए गोदावरीका सबै वडाहरुलाइ पहिलो प्रथामिकताका साथ सेवा दिईनेछ भने त्यसपश्चात चुरे गाउँपालिकाका पनि केही वडाहरुमा सेवा दिईनेछ ।

















