अत्तरिया – सडक क्षेत्रमा परेको भन्दै २ पटक भत्काइएको शान्तीदेवी रानामगरको घरमा पुनः रातो टिकमार्क लागेको छ । मोहना–अत्तरिया ६ लेन सडक अन्तरगत अत्तरिया बजारमा रहेको उनको ५ फुट लामो घरमा पुनः आइतबार गोदावरी नगरपालिकाले सडकमा परेको भन्दै रातो टिकमार्क लगाएको हो ।
नगरपालिकाले सडक अतिक्रमण हटाउने क्रममा सो क्षेत्रका अधिकांशका घर अगाडी निर्माण गरिएका टिनका छज्जा परेपनि शान्तीदेवीको भने घरको पिल्लर नै सडक क्षेत्रमा परेको छ ।

सो घरको सडक पट्टीको मोहडा ३० फुट भएपनि लम्बाई एकातर्फ ५ फुट र अर्कोतर्फ त्यो भन्दा केही बढी मात्रै छ । उनको घरमा नगरपालिकाले टिक लगाउँदा करिब ९ ईन्ज पिल्लर सडकमा परेको छ । उक्त पिल्लर भत्काए पुरै घर भत्किने शान्तीदेवीले बताईन् ।
शान्तीदेवीका छोरा दिनेश रानामगरले यसअघि २ पटक गरेर सडकमा परेका ४ कोठा भत्काइएको बताए । ‘४ कोठा यसअघि नै भत्काइएका थिए । अब ५ फुट जति बचेको थियो । त्यो पनि छोडिदिए हुन्थ्यो । तर, सडकमा परेको भन्दै रातो लगाएर गए’ उनले भने ‘पिल्लर सडकमा परेको छ । ९ इन्चको पिल्लर भत्काए घरै सकिन्छ अब ।’
उनले ६ लेन सडक बिस्तार गर्दा घर भत्काइएको भएपनि पुनः कसरी सडकमा प¥यो भनेर प्रश्न गरे ? उनले भने ‘पहिले ६ लेन सडक विस्तार गर्दा ८२ फुट राख्दा हुन्छ भनेर हामीले सोही अनुसार बनायौं अहिले फेरी नगरपालिकाले सडकमा प¥यो भन्दै छ ।’

सान्तीदेवीले अरु ठाउँ बस्न जग्गा जमिन नभएकाले घर भत्काए कता जाने भन्ने चिन्ताले सताएको बताईन् । ‘यो घर बनाएको १२÷१३ बर्ष भयो । हामीले यो जग्गा किनेका होइनै २०४० सालदेखि नै यहाँ बसेका हौ’ उनले भनीन् ‘यो लाईनमा रहेका सबै घर ऐलानी हुन । मेरो घर पनि ऐलानी मै पर्छ ।’
उनले २ तले घरको भूईतलामा २ सटरमा आफैले होटल संचालन गरेकी छिन भने माथिल्लो तलामा ३ छोरा सहित बस्दै आएकी छिन । उनले श्रीमानको द्धन्द्धकालमा मृत्यु भएको बताईन् ।

अत्तरिया बजार क्षेत्रमा यसअघि नै सडक क्षेत्रमा पर्ने घर भत्काइएका भएपनि ६ लेन सडक निर्माण गर्दा पुनः केही घर सडकमा परेका छन । तर, यस क्षेत्रका अधिकांश घरधनीले घर सडक क्षेत्र बाहीर निर्माण गरे पनि पसलको अगाडी निर्माण गरेका टिनका छज्जाले सडक अतिक्रमण गरेका छन । जसले गर्दा अत्तरिया बजार क्षेत्रमा निर्माण गरिएका फुटपाट समेत हिड्न नमिल्ने बनेका छन ।
आईतबार देखि नगरपालिकाले सडक क्षेत्रमा पर्ने सबै संरचना हटाउने भन्दै डोजर प्रयोग गरेर टिनका छज्जा हटाए पनि सडकमा परेका घर भने नभत्काइएको नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले बताए । उनले सडक क्षेत्रमा घर परेकाहरुले समय माग गरेकाले उनीहरुलाई ३ दिन समय दिने सहमति भएको बताए ।



















