अत्तरिया – २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित अनुहार दोस्रो पटक पनि वडामा निर्वाचित भयो । कैलालीको गोदावरी नगरपालिका वडा नं. १० मा दोस्रो पटक वडाध्यक्षको रुपमा युवा रविन्द्र शाही (गुड्डु) निर्वाचित भएका थिए । पहिलो कार्याकालमा विकास निर्माणका साथै सामाजिक कार्यलाई अगाडी बढाएका गुड्डु सोही कार्यलाई निरन्तरता दिने ध्याउन्नमा छन ।

‘वडाको विकासका लागी पहिलो ५ वर्षमा सुरुवात गरेका कामहरु सम्पन्न गर्नुछ । त्यतिमात्रै नभई वडामा अन्य विभिन्न विकासका योजनाहरु निर्माण गर्नुछ’ अत्तरिया खबरसँग कुरा गर्दै उनले भने ‘पहिलो ५ वर्षमा यहाँको वडाबासीहरुको अपेक्षाअनुसार केही कुरा गर्न सकेको भएर नै दोस्रो पटक वहाँहरुले मलाई चुन्नुभएको होला, यो समयलाई म खेर जान दिने पक्षमा छैन ।’

नगरपालिकाको विकट वडाका रुपमा रहेको र वेरोजगारीको समस्याले पनि ग्रसित उक्त वडाका धेरै जसो वडाबासीहरु भारतमा मजदुरी गर्ने गर्दछन् । वडामा भएका अति गरिब, तथा विपन्न परिवारका बालबालिकाहरुको शिक्षाका लागी उनी आफै अग्रसर हुने गरेका छन । ‘यो वडा विकट छ, यहाँका वडाबासीहरु बेरोजगार छन, जसका कारण बालबालिकाहरुले शिक्षा समेत आर्जन गर्न पाईरहेका छैनन्’ उनले भने ‘त्यस्ता बालबालिकाहरुलाई मैले आफ्नै खर्चमा स्कल पठाईरहेको छु ।’
उनले वडाका अति गरिब एवम् विपन्न समुदायका बालबालिकाहरुको शिक्षाका लागी मात्रै नभई अन्य विभिन्न सामाजिक कार्यहरुका लागी एउटा ट्रष्ट स्थापना गर्ने सोच बनाएका छन । उनले आफ्नी स्वर्गीय हजुरआमा भागरती देवी शाहीको नाममा ट्रष्ट स्थापना गरी गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षा देखि लिएर रक्तदान, आवश्यक परेका वडाबासीलाई खाद्यान्न सहयोग लगायतका सामाजिक कामहरु गर्ने बताए ।
सो को सुरुवात उनले आईतबार देखि नै गरेका छन । उनले ट्रष्ट स्थापना नगरेपनि वडामा रहेका २० जना विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन । उनले वडाका अति गरिब र विपन्न परिवारका बालबालिकाहरुलाई स्कुल ब्याग, कपि, कलम, पानी लगायतका सामग्रीहरु वितरण गरेका हुन् ।
वडा भित्रका कुनै पनि बालबालिका आर्थिक अभावको कारण शिक्षाबाट वञ्चित हुनुहुँदैन भन्ने हेतुका साथ उक्त सामग्रीहरु वितरण गरिएको उनले बताए । उनले विगतदेखि नै गरीब तथा जेहेन्दार बालबालिकाहरुलाई पढाउँदै आएका छन् । चालु शैक्षिक सत्रको सुरुवाती चरणमा पनि उनले जानकी मावि र ग्वासी माविमा अध्ययनरत २० जना विद्यार्थीको वार्षिक शुल्क तिरेर भर्ना पनि गरिदिएका थिए । वडाध्यक्ष गुड्डुले आफुलाई उक्त कार्यका लागी सहयोग गर्ने समाजसेवि धुर्व भट्टराई र कालू सिंङ धामी लाई धन्यवाद ज्ञापन गरे । आफू जनताको लागि जस्तो सुकै काम गर्न तयार रहेको बताउदै उनले यस्तो काम गर्दा मनमा आनन्द हुने गरेको बताए ।
वडाध्यक्ष गुड्डुले पहिलो कार्यकालको सुरुवाती चरणमै वडाको खानेपानीको समस्या समाधानमा पनि तदारुकता देखाएका थिए । फलस्वरुप अहिले वडामा खानेपानीको समस्या छैन । स्थानीय तहको निर्वाचनअघि परम्परागत रुपमा निर्माण गरिएका र खुल्ला रुपमा रहेका कुवाँबाट पानि खाने वडाबासीहरुले अहिले खानेपानीको धाराबाट पानि खाने गरेका छन । सोही वडाका स्थानिय झंकर कुँवरले भ्यागुता, सर्प लगायतका जनावरहरु कुहिएको कुवाको पानी खानुपर्ने बाध्यता अहिले हटेको बताए ।
‘कुवामा भ्यागुता कुहिएका हुन्थे, हामीले तिनलाई निकालेर पानि खानुपर्ने बाध्यता थियो’ उनले भने ‘वडाध्यक्षका कारण अहिले यस क्षेत्रमा खानेपानीको पुरानो समस्या हटेको छ ।’ उनले स्थानिय सरकार आएपछि भागेश्वर टोलमा बाटोघाटो, सिचाइ सुविधा बिस्तार भएको बताए ।
वडाध्यक्ष गुड्डुले वडामा समस्यामा परेका हरेक वडाबासीहरुलाई व्यक्तिगत रुपमा सहयोग गर्दै आएका छन । गत चैत महिनामा पनि स्थानिय विर बहादुर लुहारलाई उनले उपचार खर्चवाफत नगद रु. ७ हजार सहयोग गर्नुका साथै उनका दुई छोराछोरीलाई पढाउने जिम्मा लिएका थिए । तत्कालिन समयमा मुटुको समस्याका कारण मासिक रुपमा औषधी खानुपर्ने विर बहादुर रकम अभावका कारण औषधी किन्न सक्ने अवस्थामा थिएनन् । त्यसको बारेमा जानकारी पाएलगत्तै वडाध्यक्ष गुड्डुले उनलाई नगद सहयोग गरेका थिए । गत शैक्षिक सत्रमा पनि उनले वडाकै भागेश्वर टोलका २० जना अति विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय भर्ना गराएका थिए ।
उनले त्यस्ता सामाजिक कार्यहरु नितान्त व्यक्तिगत रुपमा गर्ने गरेका छन । उनी आफु राजनीति सँगै कृषि पेशामा पनि आवद्ध छन । उनले कृषिलाई व्यवसाय बनाउने उद्देश्यले आफ्नै निजी जग्गामा आफ्नो छोरा रियान्सुको नामबाट रियान्सु एग्रो फार्म संचालनमा ल्याएका छन ।
‘राजनीतिलाई सेवाको रुपमा लिएकाले मैले आफ्नो जिविकोपार्जन गर्नका लागि कृषि फार्म संचालनमा ल्याएको हुँ’ उनले भने ‘वडा मार्फत जनताको सेवा गर्नका लागि आफ्नो व्यवसाय हुन आवश्यक भएकाले कृषि फर्म संचालनमा ल्याएको छु ।’ उनले फर्ममा लोकल कुखुरा, बोइलर कुखुर, लेयर्स कुखुर, हाँस, टर्की र बंगुर पालन गरेका छन । ‘राजनीतिमा लागेका मानिसहरुले आफ्नो जिविकोपार्जनका लागि व्यवसाय गर्न आवश्यक छ’ उनले भने ‘राजनीतिमा लाग्ने मानिस व्यवसायमा लागे मात्रै भ्रष्ट्राचार कम हुन सक्छ ।’
उनले राजनिति विशुद्ध सेवा भएकाले जनताको सेवा गर्नलाई राजनितिमा लागेको बताए । ‘जनताको सेवा गर्नका लागि राजनितिमा लागेको हुँ’ उनले भने ‘राजनीतिलाई कमाई खाने भाँडो नबनाई बिना स्वार्थ जनताको काम कारबाही गर्ने मेरो लक्ष्य छ ।’ उनले कृषि पेशालाई व्यवसायीक रुपमा लैजान सके स्वरोजगार बन्न सकिने बताए ।
उनले आफु सेवा गर्नलाई राजनीतिमा लागेको र जिविकोपार्जनका लागि कृषि कार्य थालेको बताए । उनी वडामा रहेका रहेक नागरिकहरुको अत्यावश्यक आवश्यकता परिपुर्तिका लागी कहिल्यै कम्प्रोमाईज गर्दैनन् ।