मानिसमा चेतना जगाउने महत्वपुर्ण माध्यम शिक्षा हो । विवेकशील जनशक्ति उत्पादन गर्न शिक्षा अपरिहार्य छ । सबै पक्षको समानान्तर विकासको प्रमुख आधार भनेको शिक्षा हो । शिक्षाविनाको मानव त कल्पना पनि गर्न सकिँदैन । सबैको एउटै लक्ष्य ज्ञान लिने, सिक्ने, बुझ्ने र भविष्यमा आफ्नो ज्ञानको प्रयोग गरी समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्ने नै हो । त्यसकारण जीवनको बाटो देखाउने अत्यावश्यक पक्ष शिक्षा भएकोले शिक्षाको अपरिहार्यता र महत्व दिनानुदिन बढ्दै पनि गएको छ । शिक्षित जनशक्ति उत्पादन आजको आवश्यकता हो । समय अनुकूल गुणस्तरीय र व्यावहारिक शिक्षालाई अंगाल्नुपर्ने अनिवार्य आवश्यकता देखिएको छ ।

तर, अहिले अध्ययनको अर्थ कोरा ज्ञानमा सीमित बनेको छ । व्यावहारिक शिक्षाको हाहाकार छ । वर्तमान समयमा परम्परागत शैलीमा दिईएको ज्ञानले अर्थ राख्दैन, शिक्षालाई समय अनुसार परिवर्तन गरी व्यवसायीक र रोजगारमुखी बनाउनुपर्दछ । परम्परागत शैलीमा दिईएको ज्ञानले शिक्षित त बनिन्छ तर व्यवसायीक र रोजगार बन्न सकिने अवस्था छैन । पढेर मात्रै केही अर्थ राख्दैन । पढेको कुरालाई जीवनोपयोगी गराउन सकियो भने मात्रै त्यसको दिगो अर्थ रहन सक्छ । नेपालमा हालसम्म व्यवसायीक र रोजगारमुखी शिक्षा पुर्ण रुपमा सुरुवात हुन सकेको छैन, जसले गर्दा देशमा बेरोजगारको संख्या दिनानुदिन बढ्दै गईरहेको छ ।

व्यक्तिले आर्जन गरेको ज्ञानको उपयोग गरेर पेट पाल्न सक्ने स्थिति बनाउने व्यावहारिक शिक्षाको ध्येय हुन्छ । कुनै पनि ठाउँको सामाजिक, आर्थिक, राजनीतिक र समयसापेक्ष विकासको लागि शिक्षाको विकल्प छैन । आजको शिक्षा जुन मात्रामा व्यावहारिक रूपमा हुनुपथ्र्यो त्यो मात्रामा प्रयोगमा ल्याइएको छैन । व्यावहारिक शिक्षाको लागि सर्वप्रथम सरकारी नीति आवश्यक छ । जुन नीति कडाइका साथ लागू होस् । दिनानुदिन हाम्रो शिक्षा व्यावहारिक भन्दा सैद्धान्तिक बढी भएको छ ।
यद्यपि शिक्षाको सैद्धान्तिक पद्धतिलाई परिमार्जन गर्न अति आवश्यक छ । सरकारले शिक्षाको प्रारुप र अवस्था परिवर्तन गर्न जरुरी छ । परम्परागत शैलीमा दिईने शिक्षामा मानिसलाई शिक्षित बनाएपनि व्यवसायीक र रोजगारमुखी बनाउन सकेको छैन । तसर्थ पढेका कुराहरूलाई व्यवहारमा उतार्ने र समय अनुकूल रोजगारमूलक शिक्षा हुने हो भने पक्कै पनि शिक्षाको उपलब्धि अर्थपूर्ण मानिन्छ । त्यसका लागि सरकारले शिक्षा नीति फराकिलो बनाउन अत्यन्तै जरुरी देखिन्छ ।
















