खाेज्नुहाेस

लम्कीचुहाकी मेयर सुशीला शाही र निमित्त मेसु यादवबीचको विवाद मिल्यो

Image

धनगढी – कैलालीको लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाही र लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद यादवबीच देखिएको विवाद आपसी सहमतिमार्फत समाधान भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयमा भएको वार्तामा दुवै पक्षले आपसी समन्वय, सहकार्य र सम्मानका साथ अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । वार्तामा सामाजिक विकास मन्त्री बेलबहादुर रानामगर तथा प्रदेशसभा सदस्य दिवानसिंह विष्ट सहभागी थिए ।

attariya hospital

छलफलपछि अस्पतालको गरिमा कायम राख्ने, कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने तथा सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी अघि बढ्ने सहमति भएको जनाइएको छ । केही समयदेखि अस्पताल सञ्चालन र व्यवस्थापनका विषयलाई लिएर नगरप्रमुख शाही र निमित्त मेसु यादवबीच विवाद चर्किएको थियो ।

navjiwan hospital

विवाद सार्वजनिक भएपछि सामाजिक विकास मन्त्रालय, चिकित्सक संघलगायत सरोकारवाला निकायहरूले स्वास्थ्यकर्मीको पेशागत मर्यादा, सुरक्षित कार्य वातावरण र स्वास्थ्य सेवामा गैरकानुनी हस्तक्षेप अस्वीकार्य हुने भन्दै धारणा सार्वजनिक गरेका थिए ।

वार्तापछि दुवै पक्षले विगतका असमझदारी अन्त्य गर्दै संवाद र सहकार्यका माध्यमबाट लम्कीचुहा प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसअघि नगरप्रमुख शाहीले स्थानीय तहसँग आवश्यक सहमति नगरी लम्की अस्पताललाई प्रादेशिक अस्पताल बनाइएको आरोप लगाउँदै मुख्यमन्त्री कमलबहादुर शाहको खुलेर विरोध गर्दै आएकी थिइन् । मुख्यमन्त्री शाहले भने शाही विदेश भ्रमणमा रहेका बेला अस्पतालको प्रादेशिक संरचनाको उद्घाटन गरेका थिए । अहिले डाक्टर यादव र मेयर शाहीबीचको विवाद मिलाउन मुख्यमन्त्री शाह इतर पक्षले भूमिका खेलेको बताइन्छ ।