अत्तरिया – लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ चुच्चे नक्सा संसदबाट सर्वसम्मत रुपमा पारित भइसकेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेश गरेको उक्त प्रस्तावमा हालको सत्ता गठबन्धनमा रहेका सबै दलले समर्थन जनाएका थिए । नक्सा पास भएपनि जग्गा भने अझै भारतको अधिनमा छ । जसलाई फिर्ता ल्याउने विषयलाई अहिले चुनावी हतियार बनाइँदै छ ।
नेकपा एमालले दार्चुलाबाट नै आफ्नो चुनाव प्रचारप्रसार अभियान सुरु गरेर उक्त पार्टीका अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याएरै छोड्ने दावी गरेका छन । ओलीले दार्चुलामा भने ‘राष्ट्रियताको प्रश्नमा नेपालले एक इञ्च जमिन पनि कसैलाई छोड्नेवाला छैनौ । एक इञ्च जमिन पनि मिच्न दिनेवाला छैनौ । मिचिएको भए फिर्ता ल्याउँछौ भनेर हामीले नक्सा जारी गरेका छौँ ।’

उनले चुनावको मुखमा नक्सा फिर्ता ल्याएरै छोड्ने बताइरहदाँ कसरी फिर्ता ल्याउने भन्ने बारेमा भने उनी मौन रहे । करिब २० मिनेट भाषण गरेका ओलीले अतिक्रमित भूमिका बारेमा पटक–पटक आक्रामक रुपमा बोलेका थिए । उनले भने ‘भारतले हाम्रो भू– भागबाट अनावश्यक ढंगले सडक बनाउँदै छ । जुन सडक हामी आफै बनाउने थियौ । भारतले सो सडक बनाएर बेकारको झमेला झिकेको छ ।’ यती भन्दै गर्दा उनले भारतले सडक बनाइरहेको बारिपट्टि नेपालले बनाइरहेको सडक भने कडा चट्टानका कारण निर्माणमा ढिलाई भइरहेको भन्न भ्याए ।
उनले बोलेका शब्दले एमालेलाई देशभक्त पार्टीको रुपमा चिनाउन चाहेको कुरा प्रष्ट हुन्थ्यो । जसको फाइदा मंसिर ४ को निर्वाचनमा पुगोस् । हुनत् दार्चुलाबाट चुनावी अधियान घोषणा गर्नुको उद्देश्य नै यही थियो भन्ने कुरा धेरैले सहजै आकलन गरिसकेका थिए । त्यसलाई ओलीको सम्बोधनले मलजल गरेको छ ।

राष्ट्रियता जस्तो गम्भिर बिषयमा यसअघिकै संसदले स्पष्ट म्यान्डेड दिइसक्दा पनि समस्याको सामाधान गर्न केन्द्रित हुनुपर्ने बेलामा अहिले दलहरु चुनावी हतियार बनाएर भोट तान्ने माध्यम बनाउन थालेका छन् ।
ओलीले चुनावमा चुच्चे नक्सालाई चुनावी मुद्दा बनाइरहेका बेला नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि यो बिषयलाई गृहजिल्लाका चुनावी आमसभामा जोडतोडका साथ उठाउन थालेका छन । ओलीले यस बिषयमा नियमित रुपमा बोलिरहदा देउवाले पनि यसमा आफू गम्भिर रहेको प्रमाण पेश गर्ने गरेका छन ।
विगत डेढ बर्ष देखि सत्तामै रहेर पनि प्रधानमन्त्री देउवाले चुनाव जितेपछि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता गर्नका लागि कूटनीतिक पहल गर्ने बताउने गरेका छन । बिहिबार गृहजिल्ला पुगेका देउवाले चुनावी सभालाई सम्बोधन गर्दै भारत र चीनविरुद्ध लड्न नसकिने बताउँदै ती देशहरूसँग नेपालले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।
शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने– ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोला । होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ ।’
संदसबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको चुच्चे नक्सा पारीत भएको पनि अढाई बर्ष बितिसकेको छ । नक्सा पारित भएको १ बर्ष सम्म ओली नै प्रधानमन्त्री रहेका थिए भने हाल डेढ बर्ष यता देउवा प्रधानमन्त्री छन । तर, सत्तामा रहदाँ साखै यस बिषयमा नबोल्ने गरेका नेताहरुले चुनावको मुखमा भने यसलाई जोडतोडका साथ उठाएर भोट तान्ने प्रयासमा छन । संसदबाट सर्वसम्मत र सबै दल एक भइसकेको यस नक्साको बिषयमा अहिले चुनावको मुखमा दलका शिर्ष नेताहरु नै को बढी राष्ट्रबादी हुने होडमा साथ अभिब्यक्ति दिइरहेका छन् ।
नेताहरुले बर्षैदेखि भारतको अधिनमा रहेको भूमि फिर्ता ल्याउने भनीरहदा अतिक्रमित भूमिको वारिपट्टी नेपालकै स्वामित्वमा रहेको नेपाली भूमिमा बसेका मानिसहरुको पीडामा भने मौन छन् । अहिले पनि अतिक्रमित भूमिको बारिपट्टिका छाङरु र तिंकरका नागरिक भारतमा आश्रित रहेका छन् । नेताहरुको चर्को बोलिकै कारण भारतमा आश्रित ति नागरिक झन बढी अपमानित हुने गरेका छन । तर, नेताहरुले भने आफ्नो स्वास्र्थका लागि राष्ट्रियता जस्तो गम्भिर बिषयमा उत्तेजित भाषण गरेर भोटमूखि बन्न थालेका छन ।





















