खाेज्नुहाेस

मालाखेतीमा विवादका कारण सडक निर्माणमा ढिलाई

Image

अत्तरिया –  विगत २ वर्ष अगाडी निर्माण सुरु गरिएको कैलालीको गोदावरी नगरपालिका अन्र्तगत रहेको एउटा सडक विवादका कारण निर्माणमा ढिलाई भएको छ । सडक वरपरका जग्गाधनीहरुको विवादका कारण नगरपालिकाको वडा नं. ३ कृष्णमन्दिर देखि वडा नं. १२ बान्द्रेखाल पुग्ने सडक निर्माणमा ढिलाई भएको हो । गत आर्थिक वर्षको असार मसान्तमा सम्पन्न गरिसक्ने गरी निर्माण सम्झौता गरिएको उक्त सडकमा स्थानीयहरुले अवरोध गर्दा निमार्ण कार्य हुन सकेको थिएन् ।

ठेकेदार कम्पनी एडभेन्चर/थेगिम/सनलाईट जेभीका साइड ईन्चार्ज नारायण कडेँलले अवरोधकै बीच करिब ९ सय मिटर जती सडक निर्माण गरेपनि त्यसमाथी विवादले उग्र रुप लिदा निर्माण कार्य रोकिएको बताए । विवाद नभएको भए करिब ७५ प्रतिशत काम सम्पन्न भैसक्ने उनले बताए । ‘विवादका कारण अहिले २०/२२ प्रतिशत मात्रै काम भएको छ’ उनले भने ‘विवाद नभएको भए अहिले सम्म कम्तिमा ७५ प्रतिशत काम सकिन्थ्यो होला । जेठ महिनादेखि अवरोध हुँदा काम गर्न पाएका छैनौ ।’ उनले ९ सय मिटर सडक विस्तार गरेको र त्यसमा पनि पटक पटक अवरोध आएको बताए ।

attariya hospital

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तगत रहेको भौतिक पुर्वाधार विकास कार्यालय कैलालीले २०७७ साउन १८ गते उक्त सडक निर्माणको सम्झौता गरेको थियो । २०७९ असार मसान्तसम्म निर्माण सक्ने गरी सम्झौता गरिएको भएपनि निर्माण कम्पनीको लापरबाहीका कारण काम सम्पन्न हुन सकेको छैन ।

जेठ महिनादेखिको अवरोधका कारण पछिल्लो समय काम हुन नसकेको भएपनि त्यसअघिका दुई वर्षसम्म पनि कम्पनीले २० देखि २२ प्रतिशत मात्रै काम गरेको छ । पछिल्लो समय जग्गा धनीको अवरोधका कारण काम गर्न नसकेको जनाएको ठेकेदार कम्पनीले त्यसअघि आफ्नै लापरबाहीका कारण काम गरेको थिएन । वितेका २ वर्षसम्म काम सम्पन्न हुनुपर्नेमा ठेकेदार कम्पनीकै लापरबाहीले गर्दा काम नभएको स्थानीयहरुले आरोप लगाउदै आएका छन । स्थानीय रमेश ताम्राकारले ठेकेदारले लापरबाही गर्दा नै सडक निर्माणमा ढिलाई भएको बताए । उनले चाँडो भन्दा चाँडो सडक निर्माण हुनुपर्नेमा ठेकेदार कम्पनी विवाद भएको भन्दै पन्छिने गरेको बताए ।

अवरोधका कारण निर्माण कार्य सुरु हुन नसकेको भन्दै उक्त सडकको निर्माण अवधी चालु आर्थिक वर्षको असार मसान्त सम्म थपिएको छ । दुवै तर्फ पक्की नालीसहित २ दशमलब ५ किलोमिटर सडक कालोपत्रे गर्ने गरी धनगढीमा रहेको एडभेन्चर÷थेगिम÷सनलाइट जेभीसँग ५ करोड ८४ लाख २५ हजार १३ रुपैयाँमा पुर्वाधार विकास कार्यालय कैलालीले सम्झौता गरेको छ । सम्झौतामा कालोपत्रेका साथै ४ वटा ह्युमपाईप कल्भर्ट र ३ वटा स्ल्याब कल्भर्ट पनि निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ ।

navjiwan hospital

जग्गाधनीसँगको समन्वयमा नगरप्रमुखको टोली

जग्गाधनीहरुको अवरोधका कारण हालसम्म सुरुवात हुन नसकेको उक्त सडकको निर्माण कार्य बिहिबार देखि भने सुरु भएको छ । नगरप्रमुख विरेन्द्र भट्टसहितको टोलीले जग्गाधनीहरुसँग समन्वय गरी विवाद समाधान गरेपछि निर्माण कार्य सुरु भएको हो । साविकको चलनचल्तीमा रहेको ग्राभेल सडकको बिचबाट दुवैतिर ६/६ मिटर सडक निर्माणका लागि जमिन उपलब्ध गराउने गरी बिहिबार जग्गाधनीसँग सहमती भएको छ ।

नगरप्रमुख भट्टले विगत लामो समय देखि दुई घरको विवादका कारण रोकिएको सडक निर्माणको काम सुरु भएको बताए । असार मसान्तमै सम्पन्न हुनुपर्ने सडक हालसम्म पनि निर्माण नहुँदा नगरबासीहरुले सास्ती खेप्नुपरेको बताउँदै उनले त्यसैको समाधानका लागि दुवै पक्षसँग समन्वय गरिएको बताए ।

‘दुई घर बीचको विवादका कारण यो सडक कालोपत्रेको काम रोकिएको थियो, जसले गर्दा यहाँका बासिन्दाहरुलाई आवत जावतमा समस्या भैरहेको थियो’ उनले भने ‘विकासको काममा अवरोध गर्नु हुदैन भन्ने मान्यता मेरो हो, त्यही विषयमा विवाद गर्ने परिवारहरुसँग समन्वय भयो, उहाँहरुले सहमती जनाउनुभयो, आजदेखि काम सुरु भैसक्यो ।’ उनले अहिले चलनचल्तीको सडकमा नाली सहित १२ मिटर पु-याउन जता बाट कम पर्छ त्यताबाट जग्गा लिने सहमति जग्गाधनीहरुसँग गरिएको बताए ।

यस्तै उपप्रमुख शारदा रोकायाले सकड निर्माणका लागि धेरै विवाद नभएपनि सानोतिनो विवादले नै काम रोकिएको बताईन् । सडक सबैलाई आवश्यक भएको बताउदै उनले सबैलाई मिलाएर सडकको काम अगाडी बढेको बताईन् । जग्गाधनी सँग समन्वय नहुँदा काम सुरु हुन नसकेकोमा अब भने निरन्तर काम हुने गोदावरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तेजराज अवस्थीले बताए ।

‘समन्वयको अभावले समस्या लम्बिएको हो । अब समन्वय भइसकेको छ’ उनले भने ‘अहिले सम्म रोकिनुको कारण समन्वयको अभाव नै हो, अब वडा नम्बर ३ मा निर्विवाद बाटो बन्छ ।’ उनले सबैलाई बोलाएर छलफल गर्न नसकेकै कारण सडक निर्माणमा ढिलाई भएको बताए । यस्तै वडा नं. १२ का वडाध्यक्ष भीम बहादुर खड्काले समन्वय अभावले निर्माण कार्य रोकिएको बताए । ‘२०६३ सालमा यसमा ट्रयाक खुलेको हो । अहिले मालाखेती नहर देखि वडा नम्बर १० सम्म ढाई किलोमिटर सडक कालोपत्रे गर्ने भनेर योजना आएपनि अवरोधका कारण सडकको काम रोखिएको थियो’ उनले भने ‘जग्गाधनीहरुसँग समन्वय हुन सकेको थिएन, आज भयो । अब निरन्तर काम हुन्छ भन्ने विश्वास छ ।’
यता स्थानीय रमेश ताम्राकारले पुर्वराज्य मन्त्री दिर्घराज भाटका समयमा सञ्चालीत उक्त सडक हालसम्म पनि कालोपत्रे हुन नसकेको बताए । कैलालीमा ओलानी मात्रै कालोपत्रे सडक सँग नजोडिएको बताउदै उनले सडक विस्तारले बल्ल आशा जागेको बताए । उनले सडक निर्माणका लागि समन्वय गर्ने नगरप्रमुखको टोलीलाई धन्यावाद दिए ।

जग्गाधनी मदन राज भट्टले भने सडक निर्माणमा कुनै अवरोध नरहेको बताए । उनले आफु सडक विस्तारका लागि जग्गा दिन तयार रहेको पनि बताए । ‘बाटोमा हेराफेरी नगरेर जहाँ पुरानो बाटो छ, त्यसैमा बाटो बिस्तार गर्न आवश्यक छ’ उनले भने ‘हाम्रो जग्गा मासिदाँ पनि सडक चौडा गर्न म जमिन दिन सहमत छु । सडक बने सबैका लागि राम्रो नै हुने छ ।’ उनले पहिले नै स्थानीय संग समन्वय नहुँदा बाटो निर्माणको काम रोकिन गएको बताए ।