अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ राजमार्ग छेउमा घर टहरा पुनः निर्माण गर्न थालिएको छ । वन अतिक्रमण गरी बनाएका टहरा २ बर्ष अगाडी डिभिजन वन कार्यालय धनगढीले हटाएको भएपनि नियमित अनुगमन नहुँदा पुन घर, टहरा ठडिन थालेका हुन ।
डिभिजन वन कार्यालय धनगढीले २ बर्ष अगाडी भदौ १३ गते राजमार्ग छेउमा वन अतिक्रमण गरेर बनाएका दर्जन बढी टहरा हटाइएका भएपनि पुनः दर्जनकै संख्यामा टहरा निर्माण गरिएका छन । त्यस्ता टहरा बढी जसो व्यवसायीक प्रयोजनका लागि निर्माण गरिएका छन ।

वन कार्यालयले स्थानीको अवरोधका बीच बल प्रयोग गरेर टहरा हटाई संरचना निर्माणमा प्रयोग गरेका सामाग्री समेत जफत लिएको थियो । तत्कालिन डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलको नेतृत्वको टोलीले गोदावरीको काठे पुल माथि निर्माण गरेका संरचना हटाएको थियो । सो क्रममा उनले अब संरचना बनाउन नदिन नियमित निगरानी गरिने बताए पनि पछि वन कार्यालयले नै वेवास्ता गरेको फाइदा उठाउँदै पुनः घर टहरा निर्माण हुन लागेका हुन ।

हाल राजमार्ग छेउमा कच्ची र केही पक्की संरचना समेत धमाधम निर्माण हुन थालेका छन । केही सडकको घुम्तीमा बनाइएका त्यस्ता टहराका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । गोदावरीमा करिब ४ बर्ष अघि राजधानी घोषणा गरेयता बढेको अतिक्रमण पछिल्लो समय सो क्षेत्रमा आन्तरिक प्रर्यटकको पनि भिड लाग्ने गरेका कारण व्यवसायीक लाभका लागि पनि अतिक्रमण हुन थालेको छ ।
उता डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीले वन अतिक्रमण गरी बनाइएका संरचना हटाइने बताए । ‘सो क्षेत्रमा हेर्नको लागि सव डिभिजन वन कार्यालय अत्तरियामा छ । मैले उक्त कार्यालयलाई अतिक्रमण हटाउन निर्देशन दिन्छु’ उनले भने ‘अतिक्रमण गरी बनाइएका संरचना भोलि नै हटाउँन्छौ ।’
धार्मिक र पर्यटकिय क्षेत्र रहेको गोदावरीमा केही बर्ष यता अतिक्रमण बढ्दै गएको छ । गोदावरीमा राजधानी घोषणा गरेपछि अतिक्रमण हुने क्रम झन बढेको छ । देशभरमै सबैभन्दा बढी अतिक्रमणमा कैलाली परेको तथ्याङ्क छ भने कैलालीमा पनि बढी अतिक्रमण गोदावरी नगर क्षेत्रमा हुने गरेको छ ।
अतिक्रमणकारीलाई यहाँका सामुदायिक वनका पदाधिकारी तथा वन रक्षकको सहयोगका हुन थालेपछि अतिक्रमण बढेको स्थानीयको आरोप छ । यो क्षेत्रमा बाढी पीडित, सुकुम्बासीका नाममा जंगल छेउमा बस्दै आएकाहरु पछिल्लो समय सिमाना मिच्दै जमिन बढाउन थालेका छन् ।




















