अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ११ ले वडामै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । यस अघि बैंकहरुबाट वितरण गरिदै आएको भत्ता वडाले चालु आर्थिक वर्षदेखि भने वडाबाटै वितरण गर्न सुरु गरेको हो ।
वडाले विभिन्न टोलहरुका नागरिकहरुलाई पायक पर्ने स्थानबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । वडामा रहेका ४ वटा टोलमा बैंकका कर्मचारीहरुले भत्ता वितरण गरिरहेका वडाध्यक्ष प्रेम सिँ बडैलाले बताए । उनले ओलानीबाट ज्येष्ठ नागरिक, अपांग तथा वृद्ध महिलाहरुलाई भत्ता बुझ्नका लागी अत्तरिया आउनुपर्ने बाध्यताको अन्त्य गर्न वडाबाटै भत्ता वितरण गर्न थालिएको बताए ।
‘पहिला भत्ता बुझ्न यहाँका बृद्ध आमाबुवा, तथा अपांग दाजुभाईहरुले अटो तथा गाडी चढेर अत्तरिया जानुपथ्र्यो । अत्तरिया पुगेर पनि बैंकहरुमा भिड बढी हुने हुँदा एकै दिनमा भत्ता पाईदैनथ्यो । एउटा भत्ता बुझ्नका लागी यहाँका वडाबासीहरुले दुई तिन दिनसम्म समस्या झेल्नुपथ्र्यो’ उनले भने ‘भत्ता बुझ्नकै लागी वडाबासीलाई समस्या नहोस, उहाँहरुको खुनपसिनाले कमाएको सानो सानो रकम पनि खेर नजाओस भन्ने सोचेर वडाबाटै भत्ता वितरणको प्रकृया सुरु गरेको हु ।’
उनले बैंकसँगको सहकार्य र नगरपालिकाको समन्वयमा वडाबाटै भत्ता वितरणको काम सम्भव भएको बताए । वडा नं. ११ का लागी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मेवारी नगरपालिकाले अत्तरियाको प्राईम बैंकलाई दिएको थियो । बैंकले यसअघि कार्यालयबाटै भत्ता वितरण गरिरहेको भएपनि अहिले भने भत्ता वितरणका लागी वडामै कर्मचारी खटाएको छ ।
बैंकका अत्तरिया शाखा प्रमुख राजेश सिँहले वडाध्यक्षको आग्रहलाई मनन गरी नगरपालिकाको समन्वयमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य थालिएको बताए । उनले बैंकमा भिडभाड बढी हुने र नागरिकहरुलाई सास्ती पनि हुने भएकाले वडामै गएर भत्ता वितरण गर्ने कार्य सुरु गरेको बताए । ‘अपांग, बृद्ध, महिलाहरु धेरै छन, उनिहरुलाई टाढा बाट आउन नि समस्या थियो’ उनले भने ‘त्यसैले वडाध्यक्षको आग्रहलाई स्विकार गरी नगरपालिकाको समन्वयमा वडाबाटै वितरण गर्ने कार्य सुरु गरेका हौ । त्यसका लागी हामीले हाम्रो केन्द्रबाट पनि अनुमती मागेका थियौ ।’
उनले भत्ता वितरणका लागी बैंकबाट ४ जना कर्मचारी पठाएको बताए । उनले अन्य सहयोगका लागी नगरपालिका र वडाबाट पनि कर्मचारीहरु परिचालन गरिएको बताए ।
यता गोदावरी नगरपालिकाका प्रशासकिय अधिकृत शिवराज भाटले चालु आर्थिक वर्षदेखी वडाबाटै बैंकले भत्ता वितरण गर्ने सहमती भएको बताए । उनले ३/४ दिनको शिविर चलाएर वडामै गएर भत्ता वितरण गर्ने बैंकहरुलाई परिपत्र गरिएको बताए ।
‘पहिला पनि ९० वर्षभन्दा माथी र पुर्ण अशक्त व्यक्तिलाई घरमै भत्ता पु¥याउने सम्झौता भएको थियो, अरुलाई बैंकबाटै भत्ता वितरण गरिन्थ्यो’ उनले भने ‘तर अहिले सबैलाई वडाबाटै भत्ता वितरण गर्ने तयार थालिएको छ, वडा नं. ११ बाट सुरु पनि भैसक्यो ।’ उनले पहिलेको जस्तो वडाका कर्मचारीले नभई बैंकका कर्मचारीहरुले भत्ता वितरण गर्ने बताए । उनले नागरिकको सहजताका लागी वडाबाटै भत्ता वितरण गर्न थालिएको बताए ।
‘बैंकबाट नि राम्रै भैरहेको थियो, तर बैंकमा सबै एकैदिन आउदाँ भिडभाड बढी हुन थाल्यो, जसले गर्दा आएकामध्ये पनि आधाले फेरी दोस्रो दिन आउनुपर्ने बाध्यता हुन थाल्यो’ उनले भने ‘टाढा टाढा भएकाले नगरबासीहरुलाई भत्ता बुझ्न आउनै समस्या भैरहेको समयमा फेरी दोस्रो दिन तेस्रो दिन आउनुपर्दा झन समस्या बढ्न थालेपछि नगरबासीहरुको सहजताका लागी बैंकका कर्मचारीहरुले वडामै गएर भत्ता वितरण गर्ने कार्य सुरु गरिएको हो ।’ यसअघि नगरपालिकाले सबै वडाको अलग अलग रुपमा गरी अत्तरियामा रहेका १० वटा बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आईरहेको थियो ।
प्रशासकिय अधिकृत भाटका अनुसार वडा नं. १ र २ को कुमारी बैंकबाट, ३ र ५ को प्रभु बैंकबाट, ४ को मेघा बैंकबाट, ६ को माछापुच्छ्रे बैंकबाट, ७ को सिद्धार्थ बैंकबाट, ८ को सनराईज बैंकबाट, ९ को महालक्ष्मी विकास बैंकबाट, १० को गरिमा विकास बैंकबाट, ११ को प्राईम बैंकबाट र १२ को सांग्रीला विकास बैंकबाट भत्ता वितरण गरिदै आएको छ । दुई वर्ष लगातार बैंकबाट वितरण गरिदै आएको भत्ता चालु आर्थिक वर्षदेखि भने बैंकहरुले नै वडाबाट वितरण गर्ने भएका हुन । वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएपछि नागरिकलाई भने सहज भएको छ ।