अत्तरिया – करिब २ बर्ष अगाडी श्याम विश्वकर्माले संचालन गरेको मोबाइल पसलबाट ८ वटा मोवाइल चोरी भए । उनले सुरुमा त्यती वास्ता गरेनन् । तर, चोरीका मोबाइल एक होटलमा बसेर भाग लगाउदै गरेको सूचना श्यामले थाहा पाए र, उनीहरुलाई पक्रिन सफल भए । चोरीमा संलग्न ४ जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीमा लगियो । त्यहाँ दुवै पक्ष बिच मिलापत्र गरेर घटना सामसुम पारीयो । पसल धनीले क्षतिपुर्ती पाए ।
८ बर्ष देखि अत्तरियाको महेन्द्रनगर रोडमा नमूना मोबाईल पसल संचालन गरेका श्यामको पसलमा त्यसको डेढ बर्ष पछि अर्थात २०७८ पुस १९ गते पुनः पसल फुटाएर चोरी भयो । दोस्रो पटक भएको चोरीका उनको मोबाइल पसलमा भएका २१ मोबाईल चोरले लग्यो । उनी निकै आत्तिए । प्रहरीमा पनि उजुरी गरे । प्रहरीमा उजुरी गरे पनि उनले ति मोबाइल बिक्री गर्ने क्रममा पाएको सूचनाका आधारमा चोरीमा सहभागि ५ जनालाई प्रहरीलाई पक्राउन सफल भए ।
दोस्रो पटक भएको चोरीमा भने इलाका प्रहरी कार्यालयले अदालतमै पठायो । ‘चोरीएका १० मोबाइल सहित पक्राउ परेका उनीहरुलाई प्रहरीले अदालतमा पठायो’ उनले भने ‘तर, अदालतबाट अहिले सम्म फैसला हुन सकेको छैन । चोरी आरोपितलाई धरौटिमा छोडिसकिएको छ ।’ उनले अदालतमा वकिल संग बुझ्दा समय लाग्छ फैसला हुन्छ भन्ने जवाफ पाउने गरेको बताए ।
एकातिर चोरी हुँदा व्यवसायमा भएको नोक्सान र, अर्कोतिर अदालतको चक्कर काट्दा निरास भएका श्यामलाई यस बर्षको दशैंकै दिन अर्को बज्रपात आइलाग्यो ।
असोज १९ गते दशैं मनाएर दोस्रो बिहान बिहान पसल खोल्दा उनले पुनः पसलमा चोरी भएको भेटाए । ‘पसलमा राखिएका ९ वटा मोबाइल, १० हजारका रिचार्ज कार्ड, पेन ड्राइभ र केही रकम चोरी भएको थियो’ उनले भने ‘पसलको छतबाट फुटाएर चोरी गरिएको छ । प्रहरीमा निवेदन दिएपनि चोरहरु अहिले सम्म पत्ता लागेका छैनन् ।’
उनले दशैंको दिन भएको चोरीको बारेमा कुनै पत्ता लाग्न नपाउँदै पुनः अर्को चोरी भएको बताए । उनले असोज २८ गते राती पुनः पसलबाट ४ वटा मोबाइल र ८ हजार जतिको रिचार्ज कार्ड चोरी भएको बताए ।
प्रहरीको वेवास्ता
पसलका संञ्चालक श्यामले असोज २८ गते चोरी हुँदा २ वटा मोबाइलका आईएमई नम्बर प्याकिङबाट मोबाइल निकाल्दा चोरले पसलमै छोडेको बताए । ‘चोरी भएका २ वटा मोबाइलका आइएमई नम्बर पसलमै छन । मैले ति नम्बर पनि प्रहरीलाई दिएको छु । रिचार्ज नम्बरको अगाडी पछाडीको सिरियल नम्बर पनि प्रहरीलाई दिएको छु’ उनले भने ‘यती प्रमाण दिदाँ पनि प्रहरीले अहिले सम्म चोर पत्ता लगाउन कुनै पहल गरेको देखिएन् ।’
उनले श्रीङ्खलावद्ध रुपमा आफ्नो पसलमा चोरी हुन थालेपछि व्यवसायबाटै पलायन हुने अवस्था आएको बताए । ‘लगातार पसलमा चोरी भइरहेको छ । तर, सुरु र दोस्रो पटक चोरी भएको बाहेक पछिल्लो पटक भएको चोरीको बारेमा केही पत्तो लागेको छैन’ उनले भने ‘दुवै पटक चोरी भएको रिपोर्ट प्रहरीमा गरेको छु । प्रहरी आए, हामी पत्ता लगाउन्छौ भनेर गए ।’
उनले चोर पक्राउ गर्न प्रहरीले वेवास्ता गरेको बताए । उनले भने ‘प्रहरीलाई सहज होस भनेर चोरी भएका आइएई नम्बर दिएको छु । रिचार्ज नम्बरका सिरियल नम्बर दिएको छु । त्यसले त सजिलै पत्ता लाग्नु पर्ने हो ।’ उनले चोरले पसलको छानोमा चढेर, टिन निकारेर पसलमा छिर्ने गरेको बताए ।
सुरक्षा व्यवस्था कडा पारिएको छ : प्रहरी
उता इलाका प्रहरी कार्यालय मालाखेतीले भने घटनालाई गम्भिर रुपमा लिएर अनुसन्धान अगाडी बढाएको जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रबिन्द्र राज पाण्डेले आइएमई नम्बर हेर्नको लागि अदालतबाट अनुमति लिएको बताए । ‘उक्त मोबाइलमा कसैले सिम कार्ड हाल्यो भने हेर्नको लागि अदालतबाट अनुमति मागेका छौ । अनुमति आयो भने हामीले नेपाल टेलिकमलाई पत्राचार गर्छै’ उनले भने ‘चोरी भएको रिचार्ज कार्डको बारेमा पनि अनुसन्धान भइरहेको छ ।’
उनले चाडपर्वमा बढ्न सक्ने चोरीका घटना नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
‘अहिले अत्तरिया बजारमा प्रहरीको ड्युटि बढाएका छौ । चोकमा पनि प्रहरी राखेका छौ । मोबाइल गाडी पनि २४ घण्टा बाहिरै हुन्छ । बसपार्कमा पनि प्रहरीको ड्युटी राखेका छै । पैदल गस्ति पनि निकालेका छौ । साधा पोसाकका प्रहरी पनि परिचालन गरिएका छन’ उनले भने ‘त्यै पनि यस्ता एकआधा घटना घटेका छन । त्यस्ता घटना रोक्नका लागि लागिपरेका छौ ।’