अत्तरिया – कैलालीको अत्तरियामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहिबार अत्तरियामा रहेको हुलाका कार्यालयमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को लागि प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ को कार्यालय स्थापना गरिएको हो ।
उक्त कार्यालयको निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले उद्घाटन गरेकी थिइन् । कार्यालयको उद्घाटन गर्दै उनले देश अहिले निर्वाचनमय भइसकेको बताईन् । उनले निर्वाचनका सहि सन्देश जनताका माझ पुगाउनको लागि संचार माध्यमको महत्तपूर्ण हुने बताईन् ।

‘आयोग मिडियाकर्मीहरु संग एकदमै नजिक भएर काम गरिरहेको छौ । हामीले केन्द्रमा प्रेस कार्यालयनै स्थापना गरेका छौ’ उनले भनीन् ‘हामीले हरेक सूचना मिडिया मार्फत जनतालाई दिने प्रयास गरिरहेका छौ ।’ उनले निकट भविष्यमै आयोगले कल सेन्टर पनि स्थापना गर्न लागेको बताईन् । उनले मिथ्या सूचना रोक्नका लागि सामाजिक संचालमा पनि आयोगले कन्ट्रोल मेकानिज्म पनि स्थापना गर्न लागिएको बताईन् ।
‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निस्पक्ष, मर्यादित, मितव्ययी, विश्वसनिय बनाउनको लागि हामी सबैको भूमिका रहेको छ’ उनले भनीन ‘आम नागरिकलाई मतदान गर्नका लागि सबैको साथ रहने छ भन्नेमा हामी विश्वस्त छौ ।’


कैलालीका मुख्य निर्वाचन अधिकृत ओम प्रसाद अर्यालले मनोनयन दर्ता देखि निर्वाचनका सम्पूण काम नसकिदा सम्मका लागि अत्तरियामा क्षेत्र नम्बर ४ को कार्यालय स्थापना गरेको बताए । उनले मतदातालाई बढी भन्दा बढी सहभागि गराउनको लागि मतदाताको अभिमतको घोषणा गर्ने काम निर्वाचन कार्यालयको भएको बताए ।
निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको रुपमा ईन्द्र कडायतलाई तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा निर्वाचन आयुक्त डा. तुलाधर, मुख्य निर्वाचन अधिकृत अर्याल संगै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्ट लगायत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखहरुको सहभागिता रहेको थियो । यसअघि बिहिबार नै धनगढीमा कैलालीको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।

असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
निर्वाचन आयोगको कार्यक्रम अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ असोज २३ गते विहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन पत्र दर्ता साँझ ५ बजे देखि बेलुकी ७ बजे सम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सुची प्रकाशन, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २५ गते उजुरी माथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने, असोज २६ गते उम्मेदवारकाको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।













