ओलानीमा चौबिसै घण्टा खानेपानी वितरण गर्न सकस

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको – १०, ११ र १२ मा पर्ने ओलानी क्षेत्रमा माग बमोजिम खानेपानी पुगाउन सकस हुन थालेको छ । बर्षौ देखि खानेपानीको समस्या रहेको ओलानी क्षेत्रमा पछिल्लो ५ बर्षमा निर्माण भएका बिभिन्न खानेपानी योजनाले खानेपानीको समस्या टरेको भएपनि माग बमोजिम खानेपानी पुगाउन भने सकस हुन थालेको हो ।

maya metro hospital

ओलानी क्षेत्रमा हाल गोदावरी खानेपानी योजना र तारा खानेपानी योजना मार्फत धाराहरुमा पनि वितरण भइरहेको छ । त्यस्तै अन्य डिप बोरिङ, ट्युबेल मार्फत पनि खानेपानी बितरण हुँदै आइरहेको छ । खानेपानीको हाहाकार हुने ओलानीमा यी योजनाहरुबाट समस्या टरेको भएपनि प्रयाप्त मात्रामा चौबिसै घण्टा भने अझै पनि खानेपानी पुग्न सकेको छैन ।

joshi vada pasal 2

गोदावरी नगरपालिका – ११ का कालु विकले पहिलेको पीडा सम्झिदा खानेपानीको सुबिधा धेरै राम्रो भएपनि प्रयाप्त भने नभएको बताए । ‘पहिला खानेपानीको निकै दुःख थियो । पहिलेको त कुरै नगरौ । खोलाको पानी खायौ । खानेपानी बनाउने भनेर पैसा उठाउने अनि जाने क्रम बर्षौसम्म चलिरह्यो’ उनले भने ‘अहिले खानेपानीको सहज भएको छ ।’ उनले बिहान, दिउँसो र साँझ १/१ घण्टा खानेपानी आउने गरेको बताए । उनले अहिले १ घण्टा भएपनि शुद्ध खानेपानी खान पाएको बताए ।

वडा नम्बर १२ ओलानीका नरी कामीले अहिले शुद्ध खानेपानी सहज रुपमा उपलब्ध भएपनि प्रयाप्त नभएको बताए । उनले दैनिक पानी आउने समय बढाउन आवश्यक रहेको बताए । वडा नम्बर ११ का हेमन्त राज गिरीले २४ घण्टा नभएपनि दैनिक ६/७ घण्टा धारामा पानी आएमा सहज हुने बताए ।

गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्ण विकले उपभोक्ता बढेअनुसार ट्याङ्किको क्षमता नहुँदा पानी पुगाउन समस्या भइरहेको बताए ।

उनले हाल २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कि रहेको र, सबै उपभोक्तालाई २४ घण्टा खानेपानी पुगाउन थप २ लाख २५ हजार लिटर क्षमताको अर्को ट्याङ्कि आवश्यक पर्ने बताए । उनले बोरिङ्ग संचालनका लागि नियमित विद्युत उपलब्ध नहुँने समस्याले पनि खानेपानी नियमित उपलब्ध गराउन भइरहेको बताए ।

सस्थाका सचिव शिव विकले आयोजनाको डिपिआर अनुसार अझै संचालनमा आउन नसक्दा समस्या भएको बताए । उनले डिपिआर अनुसार २ लाख २५ हजार लिटर क्षमताका २ वटा ट्याङ्कि बनाउन आवश्यक रहेको बताए । उनले हाल खानेपानीको कार्यालय भवन पनि नहुँदा दैनिक कामकाज गर्न समस्या भइरहेको बताए । ‘अहिले कार्यालय भवन नहुँदा स्टोर रुमबाट कार्यालयका काम गरिरहेका छौ’ उनले भने ‘कार्यालय नहुँदा दैनिक कामकाज गर्न समस्या छ ।’

गोदावरी खानेपानी आयोजना अन्तरगत हाल ८ सय ६ घरधुरीमा खानेपानी वितरण गरिएको छ । संस्थामा हाल १ हजार बढी उपभोक्ता आवद्ध भइसकेका छन । हाल आयोजनाको खानेपानी पाइपलाईन विस्तारको काम जारी रहेको छ । उक्त खानेपानी आयोजनाले खानेपानीको प्रति युनिट १० रुपैयाँका दरले महशुल लिने गरेको छ ।

ओलानीमा ६५० घरधुरीमा खानेपानी वितरण गरिरहेको तारा खानेपानी आयोजनाका अध्यक्ष गंगाराम कामीले भने हाल उपभोक्तालाई चौबिसै घण्टा खानेपानी वितरण गरिरहेको बताए । ६ महिना अगाडी देखि सेवा सुचारु गरेको उक्त आयोजनाले १ हजार घरधुरीमा खानेपानी वितरण गर्ने लक्ष्य लिएको अध्यक्ष कामीले बताए ।

वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम सिह बडैलाले वडाका सबैजसो क्षेत्रमा खानेपानीको सुबिधा पुगेको बताए । उनले वडामा २ वटा ठूला र ३ वटा साना आयोजनाबाट पानी वितरण भइरहेको बताए । उनले भने ‘अरु योजनाबाट चौबिसै घण्टा पानी वितरण भइरहेपछि सबैभन्दा ठूलो योजना गोदावरी खानेपानीबाट पानी वितरणमा समस्या छ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.