खाेज्नुहाेस

मिटरब्याज पीडितलाई उजुरी गर्न कैलाली प्रशासनको आह्वान

Image

धनगढी – मिटरब्याज पीडितलाई यथाशीघ्र प्रमाण सहित प्रशासनमा उजुरी दर्ता गर्न कैलाली जिल्ला प्रशासनले आह्वान गरेको छ । देशभरि मिटरब्याजका कारण धेरै जनाको बिचल्ली भएको गुनासो र घटना दोहोरिन थालेको सन्दर्भमा स्थानीय प्रशासनले ‘मिटरब्याजको आर्थिक अपराधमा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन’ पीडितलाई छिटो उजुरी गर्न आह्वान गरेको हो ।

navjiwan hospital

कैलालीमा पनि लामो समयदेखि मिटरब्याजका घटना भइरहेका छन् । देशभरि मिटरब्याजको बिगबिगी बढ्नुका साथै मिटरब्याजमा ऋण लिएकाहरूको विचल्लीका घटनामा वृद्धि आएपछि गृह मन्त्रालयले गत साउन २८ मा ‘त्यस्ता आर्थिक अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रयोजनका लागि पीडितबाट उजुरीको आह्वान’ गरिसकेको छ ।

attariya hospital

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा ‘हालैका दिनमा मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिमाथि परिस्थितिको लाभ उठाउँदै गरेको शोषणको शृङ्खलाले सयौं परिवारको विचल्ली भएका समाचार प्रकाशन भएको’ उल्लेख गर्दै जिल्लामा त्यस्तो कुनै आर्थिक अपराध भएमा मिटरब्याजीका अपराध र शोषणविरुद्ध यथासम्भव बढी तथ्य र प्रमाणसहित उजुरी दर्ता गर्न आग्रह गरिएको छ ।

यसअघि गृह मन्त्रालयले पनि मिटरब्याजीविरुद्ध उजुरी दर्ताको आह्वान गरेको थियो । मिटरब्याजीहरूलाई कानुनी दायरामा ल्याई कारबाही गरिने मन्त्रालयले बताएको थियो ।