अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले कोरोनाका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
कोरोना महामारीको पहिलो भेरियन्ट र दोस्रो भेरियन्टमा ज्यान गुमाएका नगरभित्रका २६ जना नगरबासीका परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

बिहिबार नगरप्रमुख हरि सिँ साउँदले प्रतिव्यक्ति रु. १० हजारका दरले मृतकका परिवारलाई नगद वितरण गरे । नगद वितरण पश्चात बोल्दै उनले कोरोनाले ज्यान गुमाएका नगरबासीका परिवारलाई थोरै भएनी राहत होस भन्ने उद्देश्यले नगद वितरण गरेको बताए ।

नगरपालिकाले किरिया खर्चवाफत मृतकका परिवारलाई आर्थिक सहयोग गरेको उनले बताए । ‘कोरोनाका कारण केही नगरबासीहरुले अकालमै ज्यान गुमाएका छन’ उनले भने ‘हाम्रो सहयोगले मृतकका परिवारलाई थोरै मात्रामा भएनी राहत हुने मैले विश्वास लिएको छु ।’
उनले कोरोनाको महामारी अझै फैलन सक्ने भएकाले सतर्क रहन सबैलाई आग्रह गरे । ‘कोरोनाको तेस्रो भेरियन्ट पनि आउन लागीसकेको छ, यस्तो अवस्थामा सबैले आफ्नो स्वास्थ्यको ख्याल गरौ, सरकारले तोकेका स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गरौ’ उनले भने ।
उनले कोरोनाका कारण ज्यान गुमाएका नगरबासीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै कोरोना लागेका नगरबासीहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।
नगरपालिकाले कोरोनाका कारण ज्यान गुमाएका २६ जना नगरबासीका परिवारलाई आर्थिक सहयोग गरेको हो ।



















