खाेज्नुहाेस

‘मरेको भेष गर्दा ज्यान जोगियो’

Image

अत्तरिया – कञ्चनपुरको बेदकोट नगरपालिका – ३ बस्ने लोकेन्द्रसिंह भण्डारी कार्यक्षेत्र डडेल्धुराको आलिताल गाउँपालिका फर्किदै थिए । गाउँपालिकामा कम्प्युटर अपरेटरमा कार्यरत भण्डारी सोमबार आफ्नै कार चलाएर आलिताल फर्कन भन्दै घरबाट हिडेका थिए ।

३ दिनको विदामा घर आएका भण्डारी कार्यक्षेत्र फर्कने क्रममा कञ्चनपुरकै चमौनचौरमा चिया खादै थिए । चिया खाएर त्यहाँबाट यात्रा अगाडी बढाउने क्रममा सोही ठाउँमा भेटिएका ३ जनाले लिफ्ट मागे । उनले सो प्रस्तावलाई सहजै स्विकार गर्दै तिनै जनालाई आफ्नो सहयात्री बनाए ।

attariya hospital

‘लेबर जस्ता देखिने तिन जनाले मलाई लिफ्ट दिनुस् गाडी पाइएन भनेर सहयोग मागे । गाडीमा हालिदिनुस् भने’ उनले भने ‘म पनि एक्लै थिए । ठिकै छ भने । उनीहरुको भाषा पनि राम्ररी बुझिरहेको थिएन ।’

यात्राका क्रममा गोदावरीमा पुगेपछि उनीहरुले गाडी रोक्न लगाएर मन्दिरमा दर्शन गर्ने भनेको भण्डारीले सुनाए । ‘उनीहरुले खानीडाँडा सम्म जाने भनेका थिए । यात्राकै क्रममा सेल्फि डाँडामा पुग्यौ । त्यहाँ पनि उनीहरुले फोटो खिचौ भने । २ मिनेट रोकिदिन भने’ उनले भने ‘उनीहरुले सेल्फि खिचेपछि मलाई पनि सेल्फि खिच्न अनुरोध गरे । मैले सुरुमा नाइ भनेपनि उनीहरुले मानेनन् । पछि म पनि सेल्फि खिच्न गए ।’ सेल्फि खिच्न गाडीबाट निस्किपछि भने एक जनाले भण्डारीलाई चक्कु देखाएर आफ्नो नियन्त्रणमा लिन खोजेका थिए ।

‘सेल्फिका लागि पोज दिने तयारी गर्दै गर्दा एक जनाले चक्कु निकालेर मलाई प्रहार गर्दा मेरो हातको औलामा काटियो । अब तिमी हाम्रो फन्दामा परिसकेका छौ अब तिमीसंग जे– जे छ देउ भने । त्यसपछि उनीहरुले आफैले मेरो गोजिबाट मेरो पर्स, मोबाईल र गाडीको चाँबी निकाले’ उनले भने ‘मैले प्रतिकार गर्न खोजे तर, एक जनाले मेरो पछाडीबाट ढुङ्गाले हाने त्यसपछि म लडिहाले । अनी अर्को मान्छेले मेरो हात खुट्टा बाधे र अर्को ढुङ्गाले पनि टाउकोमा हाने ।’

navjiwan hospital

भण्डारीले उनीहरुको थप कुटपिटबाट बच्न मरेको भेष गरेको बताए ‘उनीहरुले लगातार ढुङ्गाले टाउकोमा हिर्काउन थालेपछि मैले मरेको भेष गरे’ उनले भने ‘त्यसपछि म मरे सोचेर उनीहरुले मलाई तल धकेलेर माथिबाट घाँसले छोपिदिएका थिए ।’

आक्रमण गर्ने तिनै जना भण्डारीले चलाएको प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कार सहित भागेपछि उनले खुट्टाको डोरी निकालेर सडक किनारामा पुगेपछि घटना सार्वजनिक भएको थियो । सोमबार बिहान साढे ९ बजे हिडेका भण्डारी करिब साढे ११ बजे घटना भएको ठाउँ कैलालीको गोदावरी नगरपालिका ४ सेल्फिडाँडामा पुगेका थिए । स्थानीयले भने साढे १२ बजेको समयमा घटना भएको थाहा पाएका थिए । घाइते भण्डारीको हाल अत्तरियामा रहेको पदमा अस्पतालमा उपचार भइरहेको छ । भण्डारीको टाउँको र दाँया हातको औलामा घाउँ भएको छ ।

घटनामा संलग्न ३ जना पक्राउ

प्रहरीले घटनाको बारेमा सोमबार दिउँसो १ बजे मात्रै थाहा पाएको थियो । त्यसपछि घटनामा संलग्नलाई खोजी गर्ने क्रममा प्रहरी दोषिलाई ४ घण्टा भित्रै पक्राउ गर्न सफल भएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रवीन्द्रराज पाण्डेयले आरोपित भारतको हरियाणा सोनीपथ बस्ने भगतसिंह, सोही ठाउँ बस्ने शाहिल बादलिसे र सन्नी जाँटलाई पक्राउ गरिएको बताए ।

उनीहरुलाई गोदावरी नगरपालिका – १ मा रहेको एश्यर्या सामुदायीक वनबाट पक्राउ गरिएको थियो । तिनै जनाले लुटेको कार भने अत्तरिया धनगढी रोड देखि शान्तिनगर जाने सडक खण्डमा छोडेको अवस्थामा फेला परेको डिएसपी पाण्डेले बताए ।

उनले स्थानीयको सहयोगमा भाग्ने क्रममा तिनै जनालाई पक्राउ गरिएको बताए । डिएसपी पाण्डेले घटनाको अनुसन्धान जारी रहेको बताएका छन ।