खाेज्नुहाेस

उपचार नपाउँदै सितादेवीले पाइन अपाङ्गताको पहिचान

Image

अत्तरिया  – सम्पती नभएपनि सन्तुष्टिका साथ जिवन निर्वाह गरिरहेको सितादेवीको परिवार संग अहिले न सम्पती छ न सन्तुष्टि । ७ महिना अगाडी उनको परिवारमा परेको बज्रपातले अहिले सितादेवीलाई खुल्ला आकाशमा पनि सास फेर्न संघर्ष गरिरहनु परेको छ ।

कैलालीको गोदावरी नगरपालिका – ८ जोनापुरमा बस्ने सितादेवी चौधरीका श्रीमान धनगढीमा रिक्सा चलाउँथे । सीतादेवी ज्याला मजदुरीको काम गर्थिन । उनीहरु ३ छोराछोरी थिए ।

attariya hospital

दुवै जनाले गरेको ज्यालादारीले जसोतसो छोराछोरीलाई पढाउन र लालनपालन गर्न खर्च जुटिरहेको थियो । सम्पती नभएपनि उनीहरुको परिवारमा सन्तुष्टि थियो । २२ बर्ष अघि वैवाहित बन्धनमा बाँधिएकी सितादेवीको टाउको दुखिरहने र रिङ्गटा लाग्ने समस्या आइरहने भएपनि उनले त्यसलाई सामान्य रुपमा लिने गरेकी थिइन् । जब ७ बर्ष अगाडी सोहि समस्याले उनी बेहोस भएर भुइमा ढलिन त्यसपछि उनले पत्तो पाइन आफू गम्भिर बिरामी परेको ।

अहिले सितादेवीका न हातखुट्टाले काम गर्छन । न उनी ढाडको सहारामा बस्न नै सक्छिन । न उनी राम्ररी बोल्न सक्छिन् । उनलाई अहिले खाना खान पनि अरुको साहारा चाहिन्छ । सामान्य जिवनयापन गरिरहेको उनको परिवारमा एक्कासी ठूलो बज्र्रपात परेपछि सितादेवी अहिले जिवन र मरणको दोसाँधमा छिन । सीतादेवी आफू मात्रै थला परेकी छैनन् उनका श्रीमानको रिक्सा चलाउने काम पनि बन्द भएको छ ।

सितादेवीका श्रीमान कुँवर प्रशाद चौधरीले दिनभरी श्रीमतीको रेखदेख गर्नुपर्दा आफूले ७ महिना देखि काम पनि गर्न नपाएको बताए । ‘म धनगढी बजारमा रिक्सा चलाउँथे । अहिले त्यो काम पनी गर्न सकेको छैन । श्रीमतीलाई ट्वाइलेट आफैले लग्नुपर्छ । पानी, खाना पनि खुवाइदिनु पर्छ । त्यै भएर समस्या झन बढी आएको छ’ उनले भने ‘पहिले श्रीमती पनि ज्यालादारीको काम गर्नुहुन्थ्यो म पनि रिक्सा चलाउने र कहिले मजदुरीको पनि काम गर्थे । अहिले मैले पनि श्रीमतीको रेखदेख गर्नु परिरहेको छ । खान लगाउन पनि निकै समस्या छ ।’

navjiwan hospital

उनले घरमा छोराछोरी पनि सानै भएको र एक्कासी यस्तो समस्या आएपछि श्रीमतीको उपचार गर्ने भन्दा पनि पेट पाल्नै समस्या भएको बताए । उनले खानलाउनकै समस्या आएपछि ३ दिन धनगढी बजारमा चन्दा संकलन गरेको बताए ।

‘खान लगाउनकै समस्या हुन थालेपछि अहिले अलि– अलि चन्दा पनि संकलन गरे । तिन दिनमा ४ हजार जती संकलन भयो’ उनले भने ‘तिन दिन पैसा उठाएर अहिले गाडी  भाडा तिरेर नगरपालिकामा श्रीमतीको अपाङ्गता परिचय पत्र बनाउन आएको हुँ । अलि चन्दाबाट बचेको पैसा जम्मा गरेको छु ।’ उनले वडाको सिफारिसमा धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गराएको भएपनि समस्या सामाधान नभएको बताए ।

‘उपचारका लागि सेतीमा गएको थिए । आर्थिक अवस्था कमजोर भएकाले वडाको सिफारीसमा सेतीमा निःशुल्क उपचार गर्न पाएको थिए । तर, निको भएन । माया मेट्रो अस्पतालमा पनि गएको थिए निको भएन’ उनले भने ‘डाक्टरले अन्यत्र लग्नुपर्छ भने । बाहिर जान आर्थिक समस्या छ । डाक्टरले ढाडको नासा च्यापिएकाले यस्तो समस्या आएको बताएका छन ।’

अपाङ्गता परिचय पत्र बनाउन बुधबार गोदावरी नगरपालिका कार्यालयमा श्रीमतीलाई लिएर पुगेका कँुवरले परिचय पत्र पाइएपछि केही सहयोग पाइन्छ की भन्ने आशामा रहेको बताए ।

नगरपालिका भवनको भुइतलाको बेन्चमा पल्टिएकै अवस्थामा सितादेवीले रातो परिचय पत्र पाएपनि अन्य सहयोगको भने कसैबाट आश्वासन सम्म नपाएको उनका श्रीमान कुँवरले बताए । ‘परिचय पत्र बनेपछि अब सम्बन्धित निकायले उपचारका लागि सहयोग गरिदिन्छन कि भन्ने आशमा छु’ कुँवरले भने ‘सहयोग पाए डाक्टरसंगको सल्लाहमा राम्रो अस्पतालमा देखाउँथे ।’

भिडियो