धनगढी – सरस्वती माध्यमिक विद्यालयमा आधिकारिक हेडमास्टर को हो भन्ने विवाद राजनीतिक उत्कर्षमा पुगेको छ । गोदावरी नगरपालिकाको ११ नम्बर वडा कार्यालयले विद्यालय व्यवस्थापन समिति नै अवैध रहेको दावी गर्दै सो समिति खारेज गर्न नगरपालिकालाई सिफारिस गरेपछि सो घटनाले राजनीतिक रुप लिएको हो ।

गोदावरी नगरपालिकाको कार्यालयका अनुसार वडा अध्यक्ष प्रेमसिंह बडैलाले गणेश साउँदको अध्यक्षतामा गठन गरिएको विद्यालय व्यवस्थापन समिति प्रक्रिया पुरा नगरी (सबै अभिभावक उपस्थित नराई) गठन भएकोले सो समितिले गरेका सबै निर्णय र समिति खारेज गर्न सिफारिस गरेको छ । यद्दपि, सोही वडा कार्यालयले वडा अध्यक्ष प्रेमसिंह बडैलालाई सो समितिको पदेन सदस्यका लागि फिसारिस गरेको विद्यालय प्रशासनले जनाएको छ ।

वडाध्यक्ष बडैलाले निवर्तमान वडाध्यक्ष शिव विकको अध्यक्षतामा रहेको विद्यालय व्यवस्थापन समितिको म्याद २०७८ पुस ३ गते सकिएपछि प्रधानाध्यापकबाट विनोद भट्टराईलाई हटाई रामबहादुर पार्कीलाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेको दावी गरेका छन् । उनले नगरपालिकाको शिक्षा शाखाले नै विद्यालयमा विवाद सिर्जना गराएको आरोप लगाएका छन् ।
नगरपालिकाले सरस्वती माविको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको विषयमा कुनै निर्णय गर्न सकेको छैन । नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले वडा कार्यालयले नै प्रधानाध्यापकको विवाद टुंगो लगाउनुपर्ने बताए । उनले विद्यालयमा शिक्षकले समेत मिलेर अगाडि बढ्नुपर्ने र भट्टराईले काजबाट फिर्ता भएपछि आफ्नो विषय व्यवस्थापन समितिमा राखेर प्रक्रियामा लग्नुपर्नेमा सोझै प्रधानाध्यापक आफू रहेको दावी गरेपछि विवाद भएको बताए ।
वडा कार्यालयले यही जेठ २६ गते वडाध्यक्ष वडैलालाई विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य सिफारिस गरेको चलानी नम्बर १३९८ को पत्र विद्यालयमा सोमबार पुगेको छ । वडाध्यक्ष बडैलाले चलानी नम्बर १४०४ को पत्रमा विद्यालय व्यवस्थापन समिति खारेज गर्न नगरपालिकालाई सिफारिस गरेका छन् ।
निमित्त प्रधानाध्यापक पार्कीले वर्तमान विद्यालय व्यवस्थापन समिति २२५ जना अभिभावकको उपस्थितिमा सबै प्रक्रिया पुरा गरी गठन भएको जनाए । अघिल्लो पटक सो विद्यालयको व्यवस्थापन समिति गठन गर्दा ७५ जना अभिभावकको उपस्थितिमा वडाध्यक्ष बडैला समितिको अध्यक्ष भएको विद्यालयको रेकर्डमा छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साउँदले वडा कार्यालयले अनावश्यक विवाद झिकेको दावी गरेका छन् । उनले विधि प्रक्रियामा रहेको हुनाले आफूलाई नै वडाध्यक्ष बडैलाले समितिको पदेन सदस्यका लागि सिफारिस गरेको दावी गरे ।
निवर्तमान वडाध्यक्ष शिव विकको अध्यक्षतामा रहेको विद्यालय व्यवस्थापन समितिले विभिन्न ११ बुँदे अभियोग लगाएर शिक्षक विनोद भट्टराईलाई प्रधानाध्यापकको जिम्मेवारीबाट मुक्त गरी पार्कीलाई सो जिम्मेवारी दिने निर्णय गरेको थियो । त्यसपछि काज सरुवा माग गरी राष्ट्रिय मावि बल्मीमा भट्टराई तीन महिने काजमा गएका थिए ।
साउँदको अध्यक्षतामा रहेको विद्यालय व्यवस्थापन समितिले उनलाई फिर्ता बोलाई नियमित पठनपाठनमा सहभागी हुन अनुरोध गरेको थियो । नगरपालिकाको शिक्षा शाखाले काज पुर्वको जिम्मेबारीमा रहने गरी भट्टराईको काजफिर्ता गरेको छ । शिक्षक भट्टराईले विद्यालयमा उपस्थित भएर प्रधानाध्यापक आफू नै रहेको दावी गर्दै पार्कीले गरिरहेको भूमिकामा हस्तक्षेप गरेपछि विवाद शुरु भएको थियो । सो विवाद अहिले वडा कार्यालय, प्रहरी चौकी, नगरपालिका र जिल्ला शिक्षा समन्वय ईकाईसम्म पुगेको छ ।