अत्तरिया – ‘मानो रोपेर मुरी फलाउने’ समयका कैलाली, कञ्चनपुरका किसान भने हातमा ब्यानर र पम्पलेट बोकेर सडकमा चक्काजाम गर्न बाद्य छन । यस बर्ष मलको हाहाकार भएपछि किसानहरु सडकमा चक्काजाम गरेर मलको माग गर्ने अबस्थामा पुगेका हुन । धानको खेतीका लागि मल नपाइएपछि किसानहरुलाई आन्दोलन गर्नुपर्ने बाध्यता छ ।
किसानहरुले मंगलबार सरकारलाई चाडो भन्दा चाँडो मल उपलब्ध गराउँन माग गर्दै अत्तरिया बजारमा आधा घण्टा चक्काजाम गरेका छन ।
कृषि उपज थोक बजार अत्तरिया र अन्य सरोकारवाला किसानहरुको आयोजनामा गरिएको उक्त बिरोध कार्यक्रममा किसानले मलखानको व्यवस्था गर्न र २०७८ साल कात्र्तिकमा बर्षाबाट भएको क्षतिपूर्ति दिन माग गरेका थिए ।

आन्दोलित किसानहरुले ‘समयमा मल बिउ तब जोगिन्छ हाम्रो जिउ’, ‘नो फार्मर नो फूड’, ‘हामी किसान उत्पादन गर्ने जनशक्ति हो’, ‘देशको भबिष्य किसान बिना सम्भव छैन’ लगायतका नारा लेखिएका पम्पलेट बोकेका थिए ।
कृषि उपज थोक बजार अत्तरिया अध्यक्ष नन्दलाल भट्टले अहिलेको सरकार किसान प्रति उत्तदायि नभएको बताए । उनले अहिले किसान मल नपाएर निकै मर्माहित भएको बताए ।

‘थिचोमिचोमा परेका किसान अब चुप लागेर बस्दैनन् । अब तुरुन्तै मलको व्यवस्थापन नगरिएको खण्डमा अब कडा आन्दोलन गर्न बाद्य हुने छौ’ उनले भने ‘अब कैलाली कञ्चनपुरका मात्रै नभएर समग्र सुदूरपश्चिमका किसान मल नपाए सडकमा उत्रिन बाध्य हुने छन ।’
उनले सरकारले ७ दिन भित्र मलको व्यवस्थापन नगरे अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
आन्दोलनमा सहभागि कञ्चनपुरका किसान पतिराम चौधरीले अहिले मल नहुँदा खेती गर्न निकै समस्या भएको बताए । उनले मलको समस्या सामाधानका लागि सरकारले जसरी भएपनि सुनुवाइ गर्नुपर्ने बताए । ‘बिगतका बर्षहरु भन्दा यो बर्ष मलको समस्या झन बढेको छ’ उनले भने ‘मलको समस्या सामाधानका लागि सरकारले हेरिदिनुपर्छ ।’
कैलालीको गोदावरीका किसान खुसिराम चौधरीले २०६० सालदेखि तरकारी धान खेती गरिरहेको भएपनि हाल यस बर्ष मलको समस्या अत्याधिक बढी रहेको बताए । ‘अहिले कृषिमा लगानी बढेको छ । धान खेतीको उत्पादनले गहुँ लगाउन पुग्दैन । गहुँको उत्पादनले धान खेती गर्न पनि पुग्दैन’ उनले भने ‘किसान अहिले निकै मारमा छौ । मल पाईदैन । डिजल बढेको छ । तर, तरकारीको मुख्य घटेको छ ।’
उनले ३ विगामा धान खेती लगाउने तयारी गरेपछि अहिले सम्म मल नपाएको बताए । उनले जसरी भएपनि सरकारलाई मल उपलब्ध गराइदिन आग्रह गरे ।


















