अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ बसन्तपुरमा जडान गरिएका खानेपानीको धारामा नियमित पानी नआउँदा उपभोक्ता मारमा परेका छन । उक्त क्षेत्रमा अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मार्फत जडान गरिएका धारामा नियमित पानी नआउँदा उपभोक्ता मारमा परेका हुन । पहिले दिनभरी जसो धारामा खानेपानी आउने गरेको भएपनि गर्मीयाम सुरु भएसंगै भने धारामा मुस्किलले दिनमा एक डेढ घण्टा मात्रै पानी आउने गरेको उपभोक्ताहरुले बताएका छन ।

स्थानीय उमेश भट्टले खानेपानीका धारा दिनभरी सुख्खा हुने गरेको बताए । उनले बिहान एक डेढ घण्टा मात्रै थोरै पानी आउने गरेको बताए । ‘बिहान मात्रै एकछिन पानी आउँछ । पछि दिउँसोभरी पानी आउँदैन । साँझ पनि पानी आउँदैन’ उनले भने ‘एक डेढ महिना जती भयो होला यस्तो समस्या भएको । बिहान भरेको पानी दिनभरी नपुगे नल्काको पानी खानुपर्छ ।’ स्थानीय निर्मला जोराले खानेपानीको बिल आउने गरेको भएपनि पानी नआउने गरेको बताईन् । उनले खानेपानी नआउँदा खेतमा सिचाई गर्ने बोरिङबाट पानी निकालेर खाने गरेको बताईन् ।

‘पानी नआउँदा हामीलाई निकै समस्या छ । अहिले खेतमा सिचाई गर्ने बोरिङ चलाएर पानी खाइरहेका छौ । आएपनि पानी निकै कम आउँछ’ उनले भनीन् ‘खान, लुगा धुन, समस्या छ । केहि दिन भयो यो समस्या हुन थालेको छ । पानी दिदैनन् पैसा मात्रै लग्छन ।’
स्थानीय बुद्धि सिँह बोगटीले लामो समय देखि खानेपानीको समस्या समाधान हुन नसकेको बताए । उनले घर माथि ट्यांङ्कीमा जम्मा गरेको पानीले जसोतसो खानेपानीको जोहो गरिरहेको बताए ।
‘धारामा कहिलेकाही बेलुकी कहिले बिहान सानो पानी आउँछ । बिहान बढीमा डेढ घण्टा पानी आउँछ त्यो पनि सानो आउँछ’ उनले भने ‘खानेपानीको कार्यालयमा आफूहरुले समस्या पटक–पटक राखेपनि सुरुवाई भएन ।’
उनले पहिले दिनभरी पानी आउने गरेको भएपनि पछिल्लो ६/७ महिना देखि यो समस्या देखिएको बताए । उनले भने ‘पहिला दिनभरी पानी आइरहन्थ्यो । अहिले आएपनि निकै सानो पानी आउँछ । एक दुई भाडा पनि भरिन मुस्किल हुन्छ ।’ सो क्षेत्रका ६/७ घरधुरीमा खैरानाबाट खानेपानी जडान गरिएको भएपनि अन्य घरमा भने अत्तरियाबाटै खानेपानी वितरण हुँदै आएको छ । स्थानीय सतिस साउँदले खैरानाको खानेपानी नियमित आउने भएपनि अत्तरियाबाट आउने खानेपानीमा भने समस्या भएको बताए । ‘अत्तरियाको पानी २/३ घण्टा भन्दा बढी आउँदैन’ उनले भने ‘कुनै ठाउँमा दुवै खानेपानीको लाईन विच्छाईएको भएपनि उपभोक्ताले २/२ ठाउँको खानेपानी जडान गर्न पनि सक्दैनन् ।’ उनले बस्ती उचो भएको ठाउँमा खानेपानी निकै कम आउने गरेको बताए ।
अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरुले खानेपानीको प्रेसर कम भएर समस्या आएको बताए । उनले बिहान पानी धारामा पुगेपनि दिउँसो, साँझ पानी पुग्न समस्या हुने गरेको बताए ।
‘गर्मीमा यो समस्या हुने गरेको छ’ उनले भने ‘पानीको फ्लो कम हुँदा यो समस्या आइरहेको छ । अहिले उपभोक्ता पनि बढेका छन ।’ उनले क्षमता भन्दा बढी उपभोक्ता र क्षेत्रफल भएकाले समस्या आएको बताए । उनले क्षमता बृद्धिका लागि पनि काम गरिरहेको बताए ।
अत्तरिया खानेपानी मार्फत अहिले ४५ सय घरधुरीमा पानी वितरण हुँदै आएको छ । खानेपानी संस्थाले हाल १७ करोडको लगानीमा गोदावरी २ मै अर्को ओभरडेड ट्यांङ्की निर्माण गरिरहेको छ ।