अत्तरिया – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् ।
कुल विनियोजन मध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ ।

अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड लिइनेछ । त्यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ४२ खर्ब २६ करोड र २ खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कुल ४ खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइनेछ ।
बजेटमा सुदूरपश्चिम
सरकारले ल्याएको बजेटमा सुदूरपश्चिमका अधिकांश पुराना योजना दोहोरिएका छन । केही नयाँ योजना घोषणा गरिएको भएपनि अधिकांश योजनालाई निरन्तरता दिने गरी बजेट विनियोजन गरिएको छ ।
लामो समय देखि धनगढी विमानस्थललाई क्षेत्रिय विमानस्थल बनाउने चर्चा चल्ने गरेकोमा यस पटकको बजेट भाषणमा पनि गेटा बिमानस्थललाई क्षेत्रिय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरिने भनिएको छ ।
संसद्को संयुक्त बैठकमा बजेट पेश गर्दै अर्थमन्त्री शर्माले कैलालीकै टीकापुर र डडेल्धुरा विमानस्थलको पनि स्तरोन्नती गरिने बताएका छन ।
यसैबिच निर्माणाधिन अवस्थामा रहेको महाकालीमा चार लेन पुलका लागि ४१ करोड बजेट विनियोजन भएको छ । यस्तै निर्माणाधिन कैलालीको रानीजमरा सिचाई आयोजनाका लागि २ अर्व ९० करोड विनियोजन गरिएको छ । अर्थमन्त्री शर्माले रानीजमराको प्रथम चरणको १४ हजार ३ सय हेक्टरका लागि फिडर नहर तथा विद्युत गृह निर्माण सम्पन्न गरी नवनिर्मीत मुहानबाट सञ्चालन गरिने बताए ।
निर्माणधिन गेटा मेडिकल कलेजलाई सेती, महाकाली अस्पताल संगको सहकार्यमा सम्बन्धित विश्वविद्यालय अन्तरगत संचालन गरिने जनाइएको छ ।

अर्थमन्त्री शर्मा ले गुणस्तरिय स्वास्थ्य शिक्षा र सेवाको बिस्तार गरी प्रादेशिक सन्तुलन कायम गर्न विश्वविद्यालयहरुको सहकार्यमा प्रदेश सरकार र अन्तरगतका अस्पतालहरुको सहकार्यमा मेडिकल कलेज स्थापना गर्ने नीति लिइने बताएका छन ।
सोही कार्यक्रम अन्तरगत उनले गेटा मेडिकल कलेज सेती तथा महाकाली अस्पतालको सहकार्यमा सम्बन्धित विश्वविद्यालय अन्तरगत मेडिकल कलेज संचालन गर्ने व्यवस्था मिलाइने बताएका छन ।
उनले भने ‘बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पताल सुर्खेत मेडिकल कलेज कर्णाली प्रादेशिक अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान चौरझारी सामुदायीक अस्पताल तथा गेटा मेडिकल कलेज सेती तथा महाकाली अस्पताल सहकार्यमा सम्बन्धित विश्वविद्यालय अन्तरगत मेडिकल कलेज संचालन गर्ने व्यवस्था मिलाइने छ ।’ गत आर्थिक बर्षको योजनामा पनि गेटा मेडिकल कलेजलाई संचालन गरिने भनिएको थियो । उनले डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडी बढाइने बताएका छन ।
बजेट भाषणमा हरैयामा विषेश आर्थिक क्षेत्र बनाईने घोषणा गरिएको छ । जुन योजना पनि बिगत लामो समय देखि दोहरीदै आएको छ । बजेटमा ‘दोधरा चाँदनीमा सुख्खा बन्दरगाहाको सम्भाव्यता अध्ययन गरिने बताइएको छ ।
बजेटमा लामो समय देखि गति लिन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजना पनि समेटिएको छ । बजेटमा अर्थमन्त्री शर्माले ले पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माणका लागि नेपालको तर्फबाट गरिने कार्यलार्य तिव्रताका साथ अगाडी बढाइने बताएका छन । जुन कुरा बर्षौ देखि दोहरीदै आएको छ ।
बजेटमा पश्चिम सेती र सेती – ६ जलविद्युत आयोजनाको प्राविधिक तयारी गरी निर्माण कार्य अगाडी बढाईने जनाइएको छ ।
अर्थमन्त्री शर्माले ७५० मेगावाटको पश्चिम सेती र ३०९ मेगावाटको सेती – ६ जलविद्युत आयोजना निर्माणका लागी प्राविधिक तयारीका साथ निर्माण कार्य अगाडी बढाईने बताए ।
बजेटमा धनगढीको फाप्ला क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय स्तरको खेलमैदान बनाईने बताइएको छ । अर्थमन्त्री शर्मा ले फाप्ला क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय मापदण्ड अनुसारको खेलकुद रंगशाला तथा खेलग्राम बनाईने बताएका हुन ।
बजेटमा नयाँ योजनाका रुपमा कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने योजना अगाडी सारिएको छ ।
यस्तै सुदूरपश्चिमका सात देवीहरु डिलासैनी भगवती, निङलाशैनी भगवती, मेलौली भगवती, शैलेश्वरी माता, बडिमालिका, उग्रतारादेवी र त्रिपुरा सुन्दरीलाई प्रयटकिय स्थलको रुपमा विकास गरिने, अत्तरियामा जडीबुटी प्रसोधन उद्योग संचालन गरिने उल्लेख छ । बजेटमा सेती लोकमार्गको टीकापुर–उरै भन्ज्याङ खण्ड निर्माण गरिने योजना पनि अगाडी सारिएको छ ।
















