अत्तरिया – डडेल्धुराको अमरगढीका २२ जनप्रतिनिधिको राजीनामा स्वीकृत भएको छ । स्थानीय निर्वाचनमा पुनः उम्मेदवारी दिन राजीनामा दिएका ८ जना वडा अध्यक्ष, ७ जना कार्यपालिका सदस्य र ७ जना वडा सदस्यले दिएको राजीनामा स्वीकृत भएको हो ।

उनीहरुले नगर प्रमुख विश्वेश्वर प्रसाद ओझा समक्ष राजीनामा दिएकोमा सुदूरपश्चिम प्रदेशको गाउँ सभा र नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा (२) को व्यवस्था बमोजिम राजीनामा स्वीकृत गरिएको नगरको शाखा अधिकृत हेमन्तराज पन्तले जनाएका छन ।

राजीनामा पेश गर्ने वडा अध्यक्षमा वडा नम्बर १० का वडा अध्यक्ष विष्णुराज भट्ट, ११ का वडाअध्यक्ष सूर्यप्रकाश खड्का, ३ का वडा अध्यक्ष गोबिन्दराज बोहरा, १ का वडा अध्यक्ष लोकबहादुर ऐर, ५ का वडा अध्यक्ष खेमराज पाठक, ४ का वडा अध्यक्ष दिपेन्द्र थापा, २ का वडा अध्यक्ष मनोरथ बहादुर खडायत र ८ का वडा अध्यक्ष नर बहादुर साँकी रहेका छन ।


















