बैतडी – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीका ३ पालिकामा मात्रै चुनावी तालमेल हुने भएको छ । गठबन्धनमा रहेका दलहरूबीच सोमबार सदरमुकाममा भएको छलफलमा यहाँका १० पालिकामध्ये ३ मा तालमेल र बाँकी ७ पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको हो ।
यसअघि हिजोको छलफलबाट विसं २०७४ सालको निर्वाचनमा एमालेले जितेका यहाँका ३ पालिकामा तालमेल गर्ने सहमति भएको थियो । छलफलमा सहभागी नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीका अनुसार ३ पालिकामा भएको तालमेललाई राम्रोसँग कार्यान्वयन गर्ने र अन्य ७ मा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको हो ।


उनले भने, ‘सहभागी सबै दलहरूले बाँकी ७ पालिकाको हकमा आ–आफ्नो अडान नछाडेपछि हाललाई मित्रवत् प्रतिस्पर्धा गर्ने टुंगोमा पुगेका हौं । अझै सबैले आवश्यक ठाने पालिकास्तरबाटै पनि तालमेल हुन सक्छ ।’
यसअघि हिजो भएको छलफलपछि जिल्लाको डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा चुनावी तालमेल गर्ने सहमति भएको थियो । सहमतिअनुसार पञ्चेश्वरमा कांग्रेसलाई अध्यक्ष, समाजवादीलाई उपाध्यक्ष, दोगडाकेदार गाउँपालिकामा कांग्रेसलाई अध्यक्ष, माओवादीलाई उपाध्यक्ष र डिलाशैनी गाउँपालिकामा माओवादीलाई अध्यक्ष, कांग्रेसलाई उपाध्यक्ष दिने सहमति भएको हो ।
सहमति भएका पालिकाका वडाको हकमा सम्बन्धित पालिकाका नेताहरुको राय अनुसार निर्णय लिइने बताइएको छ । छलफलमा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारी, नेकपा एकीकृत समाजवादीका नेता प्रमानन्द भट्टलगायत नेताहरू सहभागी थिए ।


















