धनगढी – आसन्न स्थानीय तहको चुनाव संयुक्त रुपमा लड्ने भनेर ७ बुँदे चुनावी तालमेल सम्झौता गरेका पाँच दलीय सत्तासीन गठबन्धनबीच स्थानीय तहमा भागबण्डाको अझै टुंगो लागेको छैन । सहमतिका लागि बालुवाटारदेखि स्थानीय तहमा प्रयत्न भइरहेकै छ । तर, अहिलेसम्मका सबै बैठक निष्कर्षविहीन भएका छन् । पाँच दलबीचको गठबन्धन टुट्न पनि सक्छ भन्ने अनुमान पनि हुन थालेको छ । भागबण्डामा सहमति जुट्न नसकिरहेकै बेला गठबन्धनमा आवद्ध केही दलले स्थानीय तहका विभिन्न पदमा आ–आफ्ना उम्मेदवार सिफारिस गर्न थालेका छन् ।
यसै क्रममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले धनगढी उपमहानरपालिका प्रमुख र उपप्रमुखमा आ–आफ्ना उम्मेदवार सिफारिस गरेको छ । पाँच दलीय गठबन्धनको बैठकबाट स्थानीय तहमा भागबण्डाको टुंगो नलाग्दै दुई पार्टीले उक्त उपमहानगरको मयेर र उपमेयरमा आआफ्ना आकांक्षी उम्मेदवार सिफारिस गरेका हुन् ।

नेकपा माओवादी उपमहानगर कमिटी धनगढीले उपमहानगरपालिकाको मेयरमा शान्ति अधिकारीलाई सिफारिस गरेको छ भने उपप्रमुखमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम सिफारिस गरेको छ ।
यता, एकीकृत समाजवादीले धनगढी उपमहानगर प्रमुखको उम्मेदवारका रुपमा मदनराज रेग्मी र लोकेन्द्र बानियाँ तथा उपमेयरमा रोजी बस्नेतको नाम सिफारिस गरेको छ । नेकपा समाजवादी पार्टीले १९ वटा वडामा उम्मेदवारी घोषणा गरी चुनावमा होमिने निर्णयसमेत गरेको छ ।

‘धनगढी उपमहानगरको मेयरमा हाम्रो राम्रो पकड छ त्यसैले हामीले पाउनुपर्छ भनेर हामीले गठबन्धनसँग पटकपटक भन्यौँ, तर त्यहाँ हाम्रो कुरा सुनिएन,’ नाम खुलाउन नचाहने समाजवादीका एक नेताले भने, ‘अब हामीले एक्लै चुनाव लड्ने भयौँ ।’
नेपाली कांग्रेसले घोडाघोडी, गौरीगंगा लगायतका विभिन्न तहमा गठबन्धन अस्वीकार गर्ने निर्णय गरिसकेको छ । यस्तै, शनिबार मात्र गठबन्धनमा सम्मिलित अर्को दल जनता समाजवादी पार्टी (जसपा) ले पनि पत्रकार सम्मेलन गर्दै कैलालीका कुनै पनि स्थानीय तहमा गठबन्धन नस्वीकार्ने बताइसकेको छ ।
माओवादी र समाजवादीले आफ्ना उम्मेदवार सिफारिस गरे पनि नेपाली कांग्रेस र नेकपा एमालेले भने अझै उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । यद्यपि धनगढी उपमहानगरमा एमालेबाट मेयरमा चार र उपमेयरमा तीन जनाको नाम माथिल्लो कमिटीमा सिफारिस भइसकेको चर्चा छ । कांग्रेसबाट मेयरमा सात जना र उपमहानगरमा ५ जनाको चर्चा छ ।
धनगढीमा राम्रो सामाजिक पहिचान भएका व्यवसायी गोपाल हमालले आसन्न निर्वाचनमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषण गरिसकेका छन् । गत निर्वाचनमा पनि उनी स्वतन्त्र रुपमै उठेका थिए ।



















