खाेज्नुहाेस

बिजनेस नपाउदाँ सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सकियो

Image

धनगढी – बिजनेश नहुँदा सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुक्रबार अन्त्य भएको छ । २ वटा विधेयकहरु पारीत गर्दै हिउँदे अधिवेशन सम्पन्न भएको हो ।

पाँच दिन बैठक बसेर अधिवेशनमा सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ संशोधन गर्न बनेको विधेयक र दलित सशक्तीकरणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७७ पारित भएको प्रदेशसभाका सचिव देवबहादुर बोगटीले बताए । गत साता मात्रै सुरु भएको हिउँदे अधिवेशनमा दोस्रो बैठकपछि नै ‘बिजनेश’ नपाउँदा त्यसपछिका २ बैठक स्थगित भएका थिए । त्यसपछि सदन थप ३ दिन मात्र सञ्चालन हुन सकेको हो ।

attariya hospital

सभामुख अर्जुनबहादुर थापाले दोस्रो दिनको बैठकमै बिजनेस नभएकोले स्थगन गर्नुपर्ने अवस्था रहेको बताएका थिए । उनले बिजनेस दिन सरकारको ध्यानाकर्षण गराएका थिए । सभामुख थापाले बिजनेस सकिएकाले सरकारले बिजनेश दिनुपर्ने र तयार भएका विधेयकहरू समयमै सचिवालयमा दर्ता गर्नुपर्ने बताएका थिए ।

navjiwan hospital

कानुन बनाउने अधिवेशनको रूपमा लिइने हिउँदे अधिवेशन ५ दिन मात्र बैठक बसेर अन्त्य भएको हो ।

स्थानीय निर्वाचन नजिकिँदै जाँदा मन्त्री र सांसदहरू संगठन विस्तार तथा चुनाव प्रचारप्रसारमा लाग्दा प्रदेश सभाको क्रियाशीलता ओझेलमा परेको बताईएको छ । सांसदहरू स्थानीय निर्वाचन केन्द्रित हुँदा बैठकमा गणपुरक संख्यासमेत नपुग्ने अवस्था रहेको प्रदेश सभा सचिवालयका एक कर्मचारीले बताए ।

सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ र प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन तथा प्रदेश मामिला समितिमा छलफलमै भए पनि हिउँदे अधिवेशनमा प्रदेशसभाबाट पारित हुन सकेन ।

विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले प्रदेश निजामती विधेयक तयारी अवस्थामा रहे पनि संघीय संसद्ले अध्यादेशद्वारा ऐन जारी गर्ने कुरा आएकोले उक्त विधेयक तत्कालका लागि अघि नबढाइएको बताए । प्रदेश प्रहरीसम्बन्धी विधेयकमा भने छलफल नै सुरु नभएको उनले जनाए ।