खाेज्नुहाेस

गठबन्धन गर्ने निर्णयको देउवाको गृहजिल्लामा स्वागत

Image

डडेल्धुरा – स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलले गठबन्धन गरेर जाने निर्णयको प्रधानमन्त्री शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्वागत गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सभापति समेत रहेका देउवाको गृहजिल्ला डडेल्धुरामा गठबन्धनका दलहरूको बैठकले निर्णयको स्वागत गरेका हुन् ।

आइतबार जिल्ला सदरमुकाम तुफानडाँडास्थित नेपाली कांग्रेस डडेल्धुराका उपसभापति एवं कार्यवाहक सभापति डिल्लीराज जोशीको अध्यक्षतामा बसेको जिल्लास्तरीय गठबन्धनको बैठकले गठबन्धनले केन्द्रमा गरेको निर्णयको स्वागत गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तुलाराम बोहराले जानकारी दिए । यसका साथै सत्ता गठबन्धनमा रहेका दलहरूले चुनावी तालमेलविरुद्ध अभिव्यक्ति नदिने निर्णय गरेका छन् ।

attariya hospital
navjiwan hospital

निर्वाचनका सवालमा निरन्तर छलफल जारी राख्ने र निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने खालका कुनै पनि विचार अभिव्यक्तिसमेत कसैले अभिव्यक्त नगर्ने निर्णय गरिएको अध्यक्ष बोहराले बताए ।

कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति जोशीको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेशप्रसाद भट्ट, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तुलाराम बोहरा, जनता समाजवादी पार्टी जसपाका जिल्ला अध्यक्ष लक्ष्मीकान्त पनेरु र राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव टंकप्रसाद अवस्थी सहभागी थिए ।

यसका साथै प्रतिनिधिसभा सदस्य तथा एकीकृत समाजवादीकी नेतृ नीरादेवी जैरु, एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. तारा जोशी, माओवादी केन्द्रका सुदूरपश्चिम उपाध्यक्ष मानसिंह माल र कांग्रेस डडेल्धुराका पूर्वसभापति रघुवर भट्टलगायत नेताहरू पनि बैठकमा उपस्थित थिए ।