अत्तरिया – कैलालीको अत्तरियामा विङ्गर र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन । गोदावरी नगरपालिका – १ लिसा कम्पनी नजिकै ६ लेन सडकमा धनगढीबाट अत्तरिया तर्फ आउँदै गरेको सुपप्र ०१ ००१ ज १२८९ नम्बरको विङ्गर र सोही दिशाबाट आइरहेको लु ८३ प ५६९१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइते भएका हुन ।

उक्त दुर्घटनामा परी विङ्गर चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वाणीका २५ वर्षीय कृष्णराज मडै र मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–६ मटियारीका २५ वर्षीय विनोद राना घाइते भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते दुवैको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विङ्गर र मोटरसाइकल इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा लिएको जनाएको छ ।



















