धनगढी – हिमशिखर बहु–उदेश्यीय सहकारी संस्था लिमिटेडले मोबाइल बैकिङ्ग तथा एसएमएस सेवा सञ्चालनमा ल्याएको छ ।
धनगढी उपमहानगरपालिका–५, तारानगरमा केन्द्रीय कार्यालय रहेको बहु–उदेश्यीय सहकारी संस्था लिमिटेडले मोबाइल बैकिङ्ग तथा एसएमएस सेवा सञ्चालनमा ल्याएको बारे पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

‘स्थापनाकालदेखि हरेक साल नयाँ प्रविधि थप्दै आएका छौ’ पत्रकार सम्मेलनमा बोल्दै सञ्चालक समितिका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले भने, ‘मोबाइल बैकिङ्ग तथा एसएमएस सेवाले हाम्रा शेयर सदस्य र बचतकर्तालाई थप सहयोग मिल्नेछ ।’

अध्यक्ष भण्डारीका अनुसार मोबाइल बैंकिङ्ग तथा एसएमएस सेवाबाट आफ्नो खातामा भएको रकम, मिनी स्टेटमेन्ट, हिमशिखर सहकारीको एउटा खाताबाट अर्को खातामा रकम ट्रान्सफर, बैंक तथा फाईनान्समा पैसा ट्रान्सफर, फोन रिचार्ज, ल्यान्डलाईनको टेलिफोन, इन्टरनेट, बत्ती, खानेपानीको बिल भुक्तानी, स्मार्ट टि.भी रिचार्ज, हवाईजहाज टिकट, खल्ती एपमा पैसा लोड तथा क्यूआर कोड स्क्यान गर्न मिल्नेछ ।
लिमिटेडका प्रवन्धक महेन्द्र शाहीले प्ले स्टोरमा गएर मोबाइल एप्स डाउन लोड गरेर सेवा सूचारु गर्न सकिने बताए । ‘सेवा लिए बाफत वार्षिक दुई सय ५० रुपैयाँ लाग्छ’ प्रवन्धक शाहीले भने, ‘सेवा लिन पहिले फर्म भर्नुपर्दछ ।’
बि.स. २०६५ सालमा स्थापना भएको हिमशिखर बहु–उदेश्यीय सहकारी संस्था लिमिटेडमा ३ हजार ४ सय ३८ सदस्य रहेका छन् ।
धनगढीमा केन्द्रीय कार्यालय रहेको लिमिटेडको कैलारी गाउँपालिकाको हसुलिया र गोदावरी नगरपालिकाको अत्तरियामा शाखा रहेका छन् । लिमिटेडको धनगढी उपमहानगरपालिका, गौरीगंगा र गोदावरी नगरपालिका तथा कैलारी गाउँपालिका कार्य क्षेत्र रहेको छ ।
६८ करोड ९७ लाख ८६ हजार ८६० रुपैयाँ कुल सम्पत्ति रहेको सहकारीको बचत ४१ करोड ३६ लाख ८ सय ७८ रुपैयाँ रहेको छ भने ५५ लाख ४९ हजार ६४ हजार १ सय ८८ रुपैयाँ ऋण लगानी रहेको छ । यसैगरी सरकारीको २ करोड ९७ लाख ५९ हजार ५ सय रुपैयाँ शेयर पूँजी रहेको छ ।

















