अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्रका होटल व्यवसायीहरुले केही मानिसका कारण सम्पुर्ण होटल व्यवसाय नै बद्नामित भैरहेको गुनासो गरेका छन । बिहिबार गोदावरी होटल व्यवसायी संघ अत्तरियाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागी भई नगरक्षेत्रका होटल व्यवसायीहरुले केही होटल व्यवसायीहरुले होटलमा गर्ने यौन धन्दाका कारण सम्पुर्ण होटल व्यवसाय नै बद्नाम भएको गुनासो गरेका हुन ।
पर्यटकिय क्षेत्र गोदावरीका होटल व्यवसायी सुदिप पौडेलले केही होटल व्यवसायीले गर्ने क्रियाकलापले सम्पुर्ण होटल व्यापारीहरुलाई मर्का पारेको बताए । उनले त्यस्ता व्यापारीहरुको पहिचान गरी अनिवार्य रुपमा कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । यसका साथै उनले केही कुरामा होटल व्यवसायी संघ पनि कमजोर रहेको बताए ।

‘लाईसेन्स छ भनेर पर्यटकिय क्षेत्र गोदावरीमा रहेको काठेपुलमै लगेर केही व्यापारीहरुले मदिरा विक्रिवितरण गरीरहेका छन’ उनले भने ‘त्यस्ता व्यापारीहरुलाई खुल्लम खुल्ला विक्रि वितरण गर्न पाईने हो भने हामीले मात्रै किन भाडा तिर्ने, किन कर तिर्ने ।’
उनले त्यस्ता व्यापारीहरुलाई कारबाही गर्न होटल व्यवसायी संघ चुकेको बताए । यस्तै उनले संघमा केही होटल व्यवसायी दर्ता हुने र केही नहुने कारण पनि आफुलाई संघको कमजोरी महशुस भएको बताए ।
‘गोदावरीमा ३ सय भन्दा बढी होटलहरु सञ्चालनमा छन, तर २ सय ८०/९० वटा मात्रै संघमा दर्ता छन’ उनले भने ‘यो कस्को कमजोरी हो, संघका पदाधिकारी होटलमा जान्छन, कसैले दर्ता गर्न चाहे गराउने नत्र नगराउने परिपाटी छ, यो भनेको संघकै कमजोरी हो ।’ उनले संघ बलियो भए मात्रै होटल व्यवसायीका समस्याहरु समाधान गर्न सकिने बताए ।
यसैगरी अर्का होटल व्यवसायी मनोज महराले अत्तरियाका होटलहरुमा खुल्लम खुल्ला रुपमा भैरहेको यौन व्यवसायले सबै होटल व्यवसायीको ईज्जतमा दाग लागेको बताए ।
उनले होटलमा यौन व्यवसायका लागी आउने युवतीहरुको अवस्थाका बारेमा जानकारी लिई त्यसको समाधानका लागी अग्रसर नभएसम्म उक्त व्यवसाय हट्ने कुरामा आशंका व्यक्त गरे ।

‘१० वर्ष जनयुद्ध लडेका जनमुक्ति सेनाका विद्युवा महिला, सेना पुलिसका विद्युवा महिलाहरु यो अत्तरियामा वेश्यावृत्ति गर्नुहुन्छ, मैले उनलाई सोध्न जाँदा मेरो टुहुरो बच्चालाई कसरी पाल्ने, हामीलाई कसैले हेरेन, त्यसैले हामी खुल्लम व्यवसायमा छौ भनेर जवाफ दिनुभाथ्यो । सक्नुहुन्छ यसको उत्तर दिन, पाल्न सक्नुहुन्छ कसैले उनको टुहुरो बच्चा ?’ उनले प्रश्न गरे ।
त्यस्ता महिलाहरुलाई घर फर्केर आफ्नो कुटो कोदाली गरेर खाने वातावरण राज्यले सृजना गर्न सके मात्रै अत्तरियाका होटलहरुमा वेश्यावृत्तिको अन्त्य हुने उनले बताए । उनले बद्नाम भो सबै भन्ने तर बद्नामलाई रोक्ने समस्याको समाधान गर्न तर्फ कोही अग्रसर नभएका कारण यो परिस्थीति उत्पन्न भएको बताए । उनले होटल व्यवसायीहरुले पनि विगतमा भएका त्यस्ता कमिकमजोरीहरुलाई बिर्सेर नयाँ रुपान्तरणको बाटोमा लाग्न आवश्यक रहेको उनले बताए ।

संघकी अध्यक्ष धना चोखालको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँद रहेका थिए । कार्यक्रममा बोल्दै उनले अत्तरिया प्रदेशकै प्रवेशद्धार भएकाले होटल व्यवसाय व्यवस्थीत र मर्यादित हुन जरुरी रहेको बताए । उनले मर्यादित हुनुपर्ने होटल व्यवसायमा नै विकृति फैलिएको भन्ने गुनासालाई मध्यनजर गर्दै आफुले तुरुन्त एक्सन लिने पनि बताए ।
‘यो कार्यक्रममै पनि होटल व्यवसायमा भएका विकृतिका विषयहरु निस्केका छन’ उनले भने ‘आज म प्रतिबद्धता गर्दछु की वास्तवमै यस्ता गतिविधिहरु यो नगरपालिकामा छन भने त्यस्ता होटलहरुमा छापा मार्ने, र अटेरी गर्नेलाई समाजबाटै विस्तापित गर्नुपर्छ ।’ उनले त्यस्ता व्यापारीहरुलाई पहिलो पटक अल्टीमेटम दिएर पनि फेरी अटेरी गरे समाजबाटै विस्थापित गर्न व्यवसायीहरुलाई सुझाव दिए ।
स्थानीय सरकार पनि व्यवसायीहरु बलियो होउन र उनीहरुको प्रगती होस भन्ने चाहने उनले बताए । होटल व्यवसायीहरुले अधिकारसँगै आफ्नो कर्तव्य पनि पालना गर्नुपर्ने बताए । ‘हामी एक अर्कालाई मात्रै दोष दिन्छौ’ उनले भने ‘पहिला हामी आफुलाई सुधार गरौ, राम्रो कार्यको सुरुवात आफु बाट गरौ ।’
पैसा आर्जन गर्न विकृति विसंगतीको बाटो अपनाउने हो भने अत्तरियाका होटलहरुको यो समस्या कहिले पनि समाधान नहुने उनले बताए । यसले नगरपालिकाको पनि नाम खराब गर्ने कार्य गरेकाले यस्ता कार्यहरु नगर्न उनले आग्रह गरे । उनले होटलमा हुने विकृति विसंगतीको अन्त्यका लागी नगरपालिकाले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेल, गोदावरी नगरपालिका वडा नं. १ का वडासदस्य कृत बहादुर चन्द, नगरपालिकाकी महिला शाखाकी कर्मचारी प्रेमा बडु, गोदावरी होटल व्यवसायी संघका संस्थापक अध्यक्ष गणेश महरा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् होटल व्यवसायीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव तेज बहादुर बोहराले गरेका थिए ।



















